मोरङ/झापाको दमक नगरपालिकाले वडा नं. ७ मा रहेको आफ्नो स्वामित्वको ११ कठ्ठा ५ धुर जग्गामा बनेको घर टहरा शनिबारबाट डोजर लगाएर भत्काउन थालेको छ ।
करिब ५ दशक अघिदेखि बिबादित रहेको दमकको पुरानो बजार पूर्व सूनचाँदी लाइनको जग्गा खालि गराउनका लागि नगरपालिकाले बारम्बार प्रयास गर्दै आएको अवस्थामा यसबेला प्रहरीले बल प्रयोग गर्दै घरटहराहरु भत्काइरहेको छ । जनप्रतिनिधिको सहभागितामा प्रहरीको घेरा लगाएर २ वटा डोजरमार्फत घर टहरा भत्काउन थालेपछि आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै स्थानीयहरुले जनप्रतिनिधिहरुप्रति आक्रोश पनि पोखेकाछन् ।
२०७१ साल माघ २१ गते नै त्यहाँ व्यापार व्यबसाय गर्दै आएका ३४ जना व्यापारीहरुले आफूहरु नगरपालिकाको जग्गा खालि गराउन सहमत रहेको नगरपालिका समक्ष हस्ताक्षर गरेर कबुलियत गरिसकेको दमक नगर प्रमुख रोमनाथ ओलीले बताए । बीच बजारमा रहेको करोडौको जग्गामा सुविधा सम्पन्न व्यापारिक महल बनाउनका लागि पुराना घर टहरा भत्काउन आग्रह गर्दा अटेर गरेपछि प्रशासनको सहयोगमा त्यस्ता घर टहरा भत्काउने अवस्था आएको ओलीले प्रष्ट्याए ।