काठमाडौँ । पहिरो खसेर नदीको बहाव अवरुद्ध भएपछि बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको हुन सक्ने अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाले विज्ञप्ति जारी गर्दै बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी आउन सक्ने गरी वर्षा नभएको जनाएको छ । पछिल्लो वर्षाको अवस्था हेर्दा बाढी आउनुको कारण भारी वर्षा नभई अन्य घटना हुन सक्ने महाशाखाको प्रारम्भिक आकलन छ । 

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईका अनुसार पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्रै वर्षा भएको थियो । भट्टराईले भने, “प्रारम्भिक सूचना तथा भू–उपग्रहका तस्बिरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको छ ।”

वर्षाको मात्रा न्यून रहे पनि नदीमा अचानक बाढी आउनुले माथिल्लो तटीय क्षेत्रमा पहिरो खसेर पानी जमेको र त्यसपछि अवरुद्ध बहाव एक्कासि खुलेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, बाढीको वास्तविक कारण पुष्टि हुन थप अध्ययन तथा विवरण आवश्यक पर्नेछ ।