बिर्तामोड । झापाको बिर्तामोडस्थित वीरता जेसीजबाट जापानमा हुने अन्तर्राष्ट्रिय जेसीजको क्षेत्रीय सम्मेलनमा सहभागी हुन जाने सात जनाको विदाइ तथा जेसीज पूर्व अध्यक्ष समाज झापाको नेतृत्वलाई स्वागत सम्मान कार्यक्रम आज शनिबार सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सचिवालयमा भएको समारोहकाबीच जेसीआईको एसिया प्यासिफिक कन्फ्रेन्समा सहभागी हुन जाने सात जनालाई सम्मानसहित विदाइ गरिएको हो । वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, अध्यक्ष गिरी लगायतले उक्त टोलीलाई खादा, रुद्राक्षको माला, अवीर पहिर्याएर सम्मानसहित विदाइ गरेको हो । निवर्तमान अध्यक्ष सञ्जु भारती, कानूनी सल्लाहकार दिवाकरलाल चौधरी, कोषाध्यक्ष जीवनकुमार खड्का, संयुक्त सचिव प्रवेश बस्नेत, जनसम्पर्क अधिकारी कुशल खतिवडा, प्रकरण निर्देशक विशाल थापा र मातृ शाखा संयोजक दिवाकर प्रसाईं यही मे २४ देखि २७ तारिखसम्म जापानमा हुने उक्त सम्मेलनमा वीरता जेसीजको तर्फबाट सहभागी हुँदैछन् । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालको नेतृत्वमा नेपालबाट ६० जनाको टोली सोमबार काठमाडौंदेखि जापानका लागि प्रस्थान गर्नेछ । त्यस्तै उक्त समारोहमा जेसीज पूर्व अध्यक्ष समाज झापाको नयाँ नेतृत्वलाई सम्मानसहित स्वागत र कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो । समाजका अध्यक्ष विनोद बस्नेत, उपाध्यक्ष रमेश पोखरेल, महासचिव विष्णु रिमाल, सदस्य देवी भण्डारी, रजनी बजगाई लगायतलाई खादा, रुद्राक्षको माला र अवीर पहिर्याएर वीरता जेसीजले सम्मान गरेको थियो । त्यस्तै तीन वर्षे कार्यकालका लागि वीरता जेसीजकोे दीर्घकालीन योजना सभापतिमा नवनियुक्त सभापति राजकुमार पोखरेललाई समेत समारोहमा बधाई ज्ञापनसहित सम्मान गरिएको थियो । उनी वीरता जेसीजका पूर्व अध्यक्ष हुन् । कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष बस्नेत, पूर्व अध्यक्ष समाजका अध्यक्ष बस्नेत, वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकाल लगायतले वीरता जेसीजले यस वर्ष अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहुँच कायम गरेकोमा गौरवसहित खुशी व्यक्त गरे । महासचिव कमलप्रसाद पाण्डे (विनोद)ले सञ्चालन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक तथा वीरता जेसीजका उपाध्यक्ष युवराज कुँवरले गरेका थिए । अर्का उपाध्यक्ष सञ्जीव घिमिरेले जेसीआई मिसन, भिजन तथा नेपाल जेसीज र वीरता जेसीजको यस वर्षको प्रकरण वाचन गरेका थिए भने आस्था वाचन शाखा सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए । कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्षहरु वेदप्रकाश अग्रवाल, सुरेश वंशल, शेखर ढकाल, राजेन्द्र चम्लागाई, आनन्दकुमार बस्नेत, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुब्बा, नेपाल परिवार नियोजन संघ झापाका निवर्तमान अध्यक्ष दिपेन्द्र ढकाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै वीरता जेसीजका अध्यक्ष गिरीले जापान जान लागेको वीरता जेसीजको टीमलाई यात्रा सफलताको कामनासहित सम्मेलन फलदायी होस् भनी शुभकामना व्यक्त गरे । त्यस्तै जेसीज पूर्व अध्यक्ष समाज झापाको सिंगो कार्यसमितिको कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे ।