मधुमल्ला । मोरङ जिल्लाका समस्याका बारेमा प्रदेश तथा प्रतिनिधिसभाका सांसदले गृहमन्त्री रामबहादुर थापा (बादल) लाई अवगत गर्दै समस्या समाधानका लागि पहलकदमी लिन आग्रह गरेका छन् । प्राकृतिक स्रोतको उचित उपयोगको सट्टा खोलाबाट विभिन्न विकास निर्माण र च्यानलाइजको नाममा सम्पत्तिको दोहन भएको उनीहरुले जानकारी गराएका थिए । मोरङ क्षेत्र नं. ९ का प्रतिनिधि सभाका सांसद घनश्याम खतिवडा, ५ का अमनलाल मोदी, १ का प्रदेश सांसद कुशल लिम्बूलगायतले गृहमन्त्री बादललाई भेटेर आफ्नो क्षेत्रका समस्या सुनाएका थिए । ‘क्रसर उद्योगहरूको नाममा उत्तरी मोरङका खदम खोला, चिसाङ खोला, डाँस खोला, बक्राहा खोला, सोल्टी खोला, बुढी खोला, जिरिखिम्तीलगायत दर्जनौं खोलाबाट अहिले अवैध ढंगले ढुंगा गिट्टी उत्खनन् र निकासी भइरहेको छ,’ सांसद कुशल लिम्बूले भने । ‘अनियन्त्रित उत्खनन्ले वातावरणमा क्षति पुगेको छ भने खोला गहिरिएर कृषियोग्य जमिन बाँझो रहने अवस्था उत्पन्न भएको छ,’ लिम्बूले भने , ‘पानीको स्रोतहरु सुक्ने, वन क्षेत्रमा बाढी पसेर क्षति गर्ने, खेतियोग्य जमिन कटान गर्ने क्रम बढ्दै जाने र चुरे क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।’ संघीयता कार्यान्वयनको संक्रमणकालिन अवस्थामा रहेको फाइदा उठाउँदै प्राकृतिक स्रोतको चरम दोहन गर्ने र आर्थिक चलखेल गर्ने कार्यमा सक्रिय भएको उनको दाबी छ । ‘क्रसर उद्योगहरुको नाममा उत्तरी मोरङको खदम खोला, चिसाङ खोला, डाँस खोला, बक्राहा खोला, सोल्टी खोला, बुढि खोला, जिरिखिम्तीलगायत दर्जनौं खोलाबाट अहिले अवैध ढंगले ढुंगा गिट्टी उत्खनन् र निकासी भइरहेको छ,’ सांसद लिम्बूले भने, ‘अनियन्त्रित उत्खनन्ले वातावरणमा क्षति पुगेको छ भने खोला गहिरिएर कृषियोग्य जमिन बाँझो रहने अवस्था उत्पन्न भएको छ ।’ सांसदहरुले आफ्ना क्षेत्रका समस्याका बारेमा पनि गृहमन्त्री बादललाई राखेका थिए । प्रतिउत्तरमा गृहमन्त्री बादलले जनताको अहित हुने काम गर्ने कसैलाई छुट नहुने बताउँदै कानूनी दायरामा ल्याउने बताएका थिए ।