ताप्लेजुङ / कुनै बेला रमेशका लागि आन्दोलन नै सबै थोक थियो । आन्दोलनको एक अथक योद्धा, शासकको आँखाको कसिङ्गर बनेका ती रमेश राई ‘रसिक’ ले देखेको सपना अहिलेको जस्तो थिएन । देशमा शान्ति सुरक्षा र जनवादी पूँजिवादी क्रान्तिको माध्यमवाट स्वतन्त्रता र मूक्ति मिल्ने आशामा युद्धमा होमिएका उनी, जति चाहेको हो त्यति परिर्वतन नभएको महसुश गर्छन् । ताप्लेजुङको पूर्वी क्षेत्र पाथिभरा याङ्वरक गाउँपालिका वडा नं ४ मा जन्मिएका रमेशलाई धेरै मान्छेको हुलमा बस्न पनि मन पर्दैनथ्यो । तर परिस्थितिले लोकतान्त्रिक गणतन्त्रिक बाटोको हरियो बत्ती बाल्न युद्धमा उत्रिन बाध्य पार्याे उनलाई । लोकतन्त्र, गणतन्त्र, संघीयता जस्ता उपलव्धिहरु हाँसिल भए । तर ति योद्धाहरु कहाँ छन् ? तिनकै आडमा सत्तामा पुगेकाहरुले भुलेको गुनासो उनीहरुको छ ।
रमेशले अहिले जिल्ला सदरमुकाम छैवैमा च्याउ फर्म खोलेका छन् । करिव ५ वर्ष भयो च्याउ खेति सुरु गरेको । “अहिले जग्गा भाडामा लिएर च्याउ खेति गरिरहेको छु ।” राई भन्छन् “द्वन्द्व बेला धेरै रगत र पसिना वगे तर त्यो अनुसारको उपलव्धि भएन ।” रमेश जस्तै २०५० को दशकमा माओवादीले सुरु गरेको सशस्त्र युद्धमा धेरै युवाहरू होमिए । परिवर्तनका लागि भन्दै धेरै त कलिलै उमेरमा बन्दुक बोक्न तयार भए । शासक वर्गको अत्याचार अन्त्य गर्नका लागि धेरैले आफ्नो बलिदानी पनि दिए । “अहिलेसम्म युद्ध लडेकामध्ये नेतृत्व तहमा रहेका धेरै माथि पुगेका छन् ।, युद्धलाई सफल पार्न लागेका कार्यकर्ताको अवस्था भने ज्यूँका त्यूँ छ ।” राईले भने ।
जनयुद्धमा घाईते भएका केही कार्यकर्ताको अवस्था त झनै दर्दनाक छ । ०५८/५९ साल तिर र्फकँदै उनी भन्छन्–“त्यतिवेला सुरुवातमा त जिल्ला सदरमुकाम आउँदा जाँदा होस् या गाउँकै ठूलावडा भनौँदाहरुले दुःख दिन्थे । त्यसकै प्रतिकारका लागि पनि युद्धमा होमियौँ ।” पार्टीले उनलाई त्यतिवेला कमाण्डरको पनि जिम्मेवारी दिएको थियो । कमाण्डरको भूमिकामा लडाँई गर्दा गर्दै कयौँ त्यस्ता क्षण आए त्यतिबेला बाँच्छु भन्ने लागेको थिएन । “धेरै ठाउँमा बाँच्छु भन्ने आशा त कत्ति पनि थिएन । तर बाँच्न सफल भइयो ।” उनि भन्छन् “हिँडेको नै कि बाँचेर देशको परिर्वत गर्छु कि मरे पनि देशकै लागि मर्छु भनेर थियो ।” देशकै लागि भनेर लडेका कयौँ युवालाई सरकारले भने कुनैपनि सहयोग नगरको उनीहरुको बुझाई छ । “हामीलाई कुनै ठुलो मानपदवीको आवश्यकता पर्दैन् । हामीले देशका लागि लड्यौँ । परिर्वतन पनि भयो तर अव केहि व्यावसाय सुरु गर्नुपर्यो भने सरल व्याजमा ऋण र अनुदान सम्म दिनुपर्यो ।” राईले भने । जनयुद्धका योद्धाहरुलाई सरकारले सरल ऋणको व्यवस्था गरे विदेश पलायन हुनुपर्ने अवस्था नआउने उनी बताउँछन् ।
गणतन्त्रका योद्धा भन्छन्–हामीलाई व्यावसाय गर्न सहुलियत ऋण देऊ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































