कलाकार तथा अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा लगाइएको अस्थायी बार स्थानीयले भत्काइदिएपछि आवेशमा आएर दिएको प्रतिक्रियालाई लिएर माफी मागेका छन् । उनले सामाजिक सञ्जालमार्फत् ‘गलत बोलेको भए या कसैमाथि ठेस पुगेको भए क्षमाप्रार्थी’ भन्दै माफी मागेका हुन् ।

उनले जसले घटना गरायो, ऊप्रति मात्र आफूहरूको अभिव्यक्ति पोखिएको बताएका छन् । उद्देश्य पवित्र राख्दा पनि कसैको मनमा चोट लाग्न सक्ने र स्थानीयप्रति कुनै गुनासो नभएको धुर्मुसले बताए । ‘अहोरात्र खटिरहँदा सहयोगी मनहरूको रगत र पसिनामाथि डोजर चल्दा जो पनि आक्रोसित हुनु स्वभाविक हुन्छ’ –उनले भनेका छन् ।

केही दिनअघि धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागिरहेको अन्तर्राष्ट्रियस्तरको गौतम बुद्ध क्रिकेट रङ्गशालाको बारलाई स्थानीयले कालान्तरमा बस्ती उठ्न सक्ने भन्दै डोजर चलाएका थिए । स्थानीयले आफ्ना कुरा नसुनेकाले यो कार्य नै अन्तिम विकल्प भएको बताएका थिए । उक्त घटनापछि सामाजिक सञ्जालमा बहस भएको थियो ।