अभिनेता राजेश हमालले फिल्म ‘प्रेम गीत ३’ मा अभिनय नगर्ने भएका छन् ।

लामो समयदेखि नयाँ फिल्ममा नदेखिएका हमालले यो फिल्ममार्फत् नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्ने बताइएको थियो । तर, अन्तिम समयमा आएर हमालले फिल्ममा काम नगर्ने बताएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।

सेनले पहिले हमालले फिल्ममा काम गर्ने इच्छा देखाएको तर पक्का भइनसकेको बताए । तर आइतबार अन्तिम छलफल गर्दा समय मिलाउन नसकेको भन्दै फिल्म खेल्न नसक्ने बताएको उनले जनाए ।

यो फिल्ममा हमालले राजाको भूमिका निभाउने भनिएको थियो । निर्माता सन्तोष सेनले हमालले यो फिल्म छोड्नुमा सायद छोटो भूमिका भएको बताएका छन् । उनका अनुसार हमालले छाडेपछि अब उक्त भूमिकाका लागि अब नयाँ कलाकारको खोजी भइरहेको छ ।

फिल्म क्षेत्रमा नदेखिए पनि हमाल पछिल्लो समय ‘को बन्छ करोडपति’ मा देखिएका छन् । तर हमालले फिल्ममा भने अभिनय गरिरहेका छैनन् । ‘प्रेम गीत ३’ मा प्रदीप खड्का र मनिष राउतको शीर्ष भूमिका रहनेछ ।

यस्तै फिल्ममा नयाँ नायिका चयनका लागि अडिसन भइरहेको छ । छायाङ्कनमा जानुपूर्व नै यो फिल्म नयाँ वर्षको अवसर पारेर चैत्र २८ मा रिलिज हुने घोषणा गरिएको छ ।