बलिउड अभिनेता आमिर खान फरक र दमदार अभिनेताका रूपमा चिनिन्छन् । उनका आनीबानी पनि अनौठा छन् । बलिउडका सेलिब्रिटीले करोडौं खर्च गरेर भव्य विवाह गर्छन् तर, आमिरले आफ्नो पहिलो विहेमा भारु १० भन्दा पनि कम खर्च गरेको एक अन्तरवार्तामा बताएका थिए । आमिरले सन् १९८६ मा रीना दत्तासँग गुपचुप विहे गरेका थिए ।

उनले पहिलो बिहेका लागि घरबाट स्टेसनसम्म जान बस चढ्दा ५० पैसा भाडामा खर्च गरेका थिए । त्यसपछि विहे दर्ता गर्ने संस्था आउँथ्यो । तीनजना साक्षी राखेर उनीहरूले विवाह गरे । सन् १९८६ मा २१ वर्षीय आमिर र १९ वर्षकी रीनाको विहे भएको थियो । उनीहरूले आफ्नो विहेबारे परिवारलाई थाहा दिएनन् । घरका मान्छेले पछि मात्र थाहा पाए । सन् २००२ मा आमिर र रीनाले १७ वर्षको दात्पत्य जीवन टुङ्ग्याए ।

आमिर र अभिनेत्री जुही चावलाको जोडी कुनै समय हिट थियो । उनीहरूले ‘कयामत से कयामत तक’, ‘लभ लभ लभ’, ‘दौलत की जङ्ग’, ‘इश्क’ लगायत फिल्ममा काम गरेका छन् । थुप्रै हिट फिल्म दिएको यो जोडीको सात वर्षसम्म बोलचाल भएन ।

सन् १९९७ मा फिल्म ‘इश्क’ को सुटिङका क्रममा ठट्टा गर्ने क्रममा उनीसँग झगडा भएको आमिरले एक अन्तरवार्तामा बताएका थिए । ‘सानो कुरामा जुही र मेरो झगडा भएको थियो’ उनले भनेका छन्, ‘झगडा यति बढ्यो कि हामी एक–अर्कासँग बोल्नै छोड्यौँ । फिल्म ‘इश्क’ को सुटिङमा म उनीबाट ५० फिट टाढा बस्थेँ ।

कुरा गर्न त परै जाओस् हेलो–हाईसमेत हुँदैनथ्यो ।’ आमिर र रीनाको सम्बन्धविच्छेद हुने थाहा पाएपछि जुहीले आफै फोन गरेको आमिरले बताएका छन् । आमिरले भनेका छन्, ‘उनले मलाई वैवाहिक जीवन नटुङ्ग्याउने सल्लाह दिइन् । भेट्न पनि आइन् । अप्ठ्यारो पर्दा उनले साथ दिइन् ।’

आमिर फिल्म सुटिङका बेला साथीहरूसँग ख्यालठट्टा गर्छन् । फिल्म ‘दिल’ को ‘खम्बे जैसी खडी है’ गीतको सुटिङ भइरहेका बेला आमिरले माधुरी दीक्षितसँग ठट्टा गरे । उनले आफू हात हेरेर भाग्य बताउन सक्ने भन्दै ठट्टा गरे । उनको कुरा विश्वास गरेर माधुरीले हात अघि बढाइन् र आफ्नो भविष्य बताउन आग्रह गरिन् । आमिरले पहिला माधुरीको हात राम्ररी हेरे । त्यसपछि उनको हातमा थुकिदिए ।

आमिरले अभिनेत्री श्रीदेवीको निधन भएपछि एक पत्रिकासँग कुराकानी गर्र्दै उनको नाम सुन्ने बित्तिकै नर्भस हुने गरेको बताएका थिए । एकपटक सँगै फोटो सुट गर्नलाग्दा आफू नर्भस भएको उनले बताए ।