बलिउड अभिनेता शाहिद कपूर अभिनित फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा अविश्वसनीय सफलता पाएको छ । फिल्मले दोस्रो हप्ता पनि राम्रो व्यापार गरिरहेको छ । ‘कबीर सिंह’ को सफलतापछि शाहिदको खुसीको पनि सीमा छैन ।
भारतीय मिडियाका अनुुसार फिल्म नपाएर लामो समयदेखि तनावमा रहेका शाहिदले ‘कबीर सिंह’ ब्लकबस्टर भएपछि आफ्नो पारिश्रमिक दोब्बर बढाउने फैसला गरेका छन् । यसअघि उनले एक फिल्ममा १० देखि १२ करोडसम्म पारिश्रमिक लिँदै आएका थिए । हालै उनले एक फिल्मका लागि २१ करोड लिएको चर्चा छ ।
‘कबीर सिंह’ को सफलतापछि बलिउडमा अचानक शाहिदको डिमाण्ड बढेको छ । उनलाई कयौं ठूला फिल्मबाट अफर आएका छन् । अब उनी एक फिल्मका लागि २१ करोडभन्दा तल काम नगर्ने मनस्थितिमा छन् । ‘कबीर सिंह’ को प्रमोसनको क्रममा उनले आफूसँग फिल्म नभएको र यो फिल्मपछि खाली रहेको बताएका थिए ।
फिल्म ‘कबीर सिंह’ तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । यो फिल्म २१ जूनमा रिलिज भएको थियो । त्यसपछि बक्सअफिसमा फिल्म छाएको छ । फिल्मले हालसम्म १ सय ८० करोडभन्दा बढीको व्यापार गरिसकेको छ । यो शाहिदको करिअरको सबैभन्दा ठूलो हिट फिल्म होे । फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणी छिन् ।