धनकुटा । प्रदेश नम्बर १ स्तरीय मिस तामाङ प्रतियोगिताको धनकुटा अडिसन शुक्रबार हिलेमा सम्पन्न भएको छ ।
नेपाल तामाङ घेदुङ उर्लाबारी नगर कार्यसमितिको आयोजनामा तामाङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्ने उद्देश्यले १ नम्बर प्रदेशभरिका तामाङ समुदायका युवतीहरूको व्यक्तित्व र क्षमता विकास गर्न मिस तामाङ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राजकुमार योञ्जन तामाङले बताए । प्रतियोगिताको सह–आयोजक नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटा रहेको छ ।

अडिसनमा धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्लाका गरी जम्मा २५ जना तामाङ युवतीहरूले सहभागिता जनाएको प्रतियोगिताको सह–आयोजक जिल्ला घेदुङ धनकुटाका सचिव फुर्वा घिसिङ तामाङले बताए । अडिसनको निर्णायकमा सन् २०१८ का मिसेज नेपाल सेकेण्ड रनरअप शान्ती पाख्रिन तामाङ, फेसन डिजाइनर जीवन चिमरिया, ब्युटिसयन सोयाश्री बज्राचार्य र मानवी तामाङ मोक्तान रहेका छन् ।

प्रदेश नम्बर १ स्तरीय मिस तामाङ प्रतियोगिताको पहिलो अडिसन असार १२ गते इलामबाट शुरु भएको थियो भने दोस्रो अडिसन असार १६ गते झापाको बिर्तामोडमा सम्पन्न भइसकेको छ । आगामी असार २५ गते सुनसरीको तरहरामा, असार २८ गते उर्लाबारीमा हुने जिल्ला घेदुङ धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङले बताएका छन् । प्रतियोगिताको फाइनल भने धनकुटाको हिलेमा आगामी भदौ २८ गते हुने बताइएको छ ।