काठमाडौं/ नेपाली सुगम सङ्गीतकी लोकप्रिय गायिका इन्दिरा भट्टराईले ‘नाचौँ मितिनी’ गीत सार्वजनिक गरेकी छन् ।
तीजको रौनक शुरु हुन डेढ महिना बाँकी रहँदा गायिका भट्टराईको गीत र म्युजिक भिडियो सार्वजनिक भएको हो । वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द र सन्तोष श्रेष्ठको सङ्गीतमा गायिका भट्टराईले तीजविशेष गीत ल्याएकी हुन् ।
काठमाडौंमा समारोहको आयोजना गरी गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डेढ दशकदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय भट्टराईले तीजको मौलिक आधुनिक गीत प्रस्तुत गरेकी हुन् ।
भट्टराईले नेपाली मौलिकतालाई अटाएको गीतमा विशेषतः आममहिलाहरू आपसमा एकताको सूत्रमा बाँधिनु पर्ने सन्देश दिइएको छ । ‘हामीले तीजमा बजाइने भड्किला गीतभन्दा अलि विशिष्ट र मौलिक गीत बनाएका छौं, दर्शक श्रोतालाई मनपर्छ भन्ने अपेक्षा गरेका छौं’ –गायिका भट्टराईले भनिन् ।

कार्यक्रममा गीतकार अधिकारीले नेपाली गीत–सङ्गीत फरक बाटोमा गएको टिप्पणी गर्दै सङ्गीतमा समयसापेक्ष परिवर्तन आवश्यक रहे पनि मौलिक पक्ष कायम राख्नुपर्ने बताए ।
‘नाचौँ मितिनी’ गीतको म्युजिक भिडियोको निर्देशन कलाकार सम्झना बुढाथोकीले गरेकी छन् । कोरियोग्राफी भागिरथा गाहाको रहेको म्युजिक भिडियोमा कलाकारहरू सम्झना बुढाथोकी, नितु कोइराला, सदीक्षा रावत, आरोही भट्टराईलगायतले अभिनय गरेका छन् ।
सुदीप सागरको सङ्गीत संयोजन तथा राजु केसीको छायाङ्कन रहेको भिडियोको सम्पादन विष्णु शर्माले गरेका छन् । प्रस्तुति इन्दिरा म्युजिक एण्ड इन्टरटेनमेन्टको रहेको छ ।