बलिउड अभिनेता सलमान खानले हालसम्म आफूलाई कसैले विहेको प्रस्ताव नगरेको बताएका छन् ।

५० वर्ष कटिसकेका सलमानको हालसम्म विहे भएको छैन । उनको विभिन्न अभिनेत्री र मोडलहरूसँग प्रेमको चर्चा भए पनि उनले फिल्मफेयरका लागि दिएको अन्तरवार्तामा अहिलेसम्म आफूलाई कसैले विहेको प्रस्ताव नराखेको बताएका हुन् ।

फिल्म ‘भारत’ मा सलमानलाई कटरिना कैफले विहेको प्रस्ताव राखेको सिन छ । अन्तरवार्तामा सलमानले फिल्ममा यस्तो प्रस्ताव आए पनि वास्तविक जीवनमा आफूले यस्तो अनुभव कहिल्यै नगरेको बताएका छन् ।

‘यस्तो कहिल्यै भएकै छैन । मलाई लाग्छ मेरो बानीका कारण हो । म क्याण्डल लाइट डिनरमा जाने कुरामा विश्वासै राख्दिनँ । किनकि, त्यो प्रकाशमा म के खाँदैछु भन्ने कुरा देख्न सक्दिनँ’ उनले भने, ‘तर, मलाई अहिलेसम्म कसैले विहेको प्रस्ताव नराखेकोमा दुःख भने लागेको छ ।’

सलमान र कटरिनाको मुख्य भूमिका रहेको फिल्म भारतले हालसम्म तीन सय करोड भारू कमाइसकेको छ । सलमानको अर्को नयाँ फिल्म ‘दबङ ३’ आउँदैछ ।