बलिउड तथा नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक उदितनारायण झालाई एक महिनादेखि पटक–पटक ज्यान मार्ने धम्की आएको छ ।
गायक झाले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी चौकीमा दुई हप्ताअगाडि उजुरी दर्ता गरेका थिए । उजुरीमा उनले आफूलाई एक व्यक्तिले एक महिनादेखि निरन्तररूपमा फोन गरेर नोक्सान पुर्याउने धम्की दिएको उल्लेख गरेका छन् । उनले ती व्यक्तिले आफूसँग पैसा भने नमागेको बताएका छन् ।
उजुरी दर्तासँगै प्रहरीले धम्की दिने व्यक्तिको खोजी शुरु गरेको छ । धम्की दिने व्यक्तिको नम्बर विहारको रहेको छ । उनले ती व्यक्तिले चोरीको नम्बरबाट फोन गरेर आफूलाई धम्की दिएको बताएका छन् । प्रहरीको एक टोली विहार पुगेर घटनाको अनुसन्धानको तयारी गरिरहेको छ ।
गायक उदितनारायण झा मुम्बइको अन्धेरी वेस्टमा बस्छन् । अम्बोली प्रहरी चौकीका सिनियर इन्स्पेक्टरले उदितको उजुरी दर्ता गरेर थप अनुसन्धानका लागि अपराध अनुसन्धान महाशाखालाई सुम्पिएको बताएका छन् ।

अहिले प्रहरीले उदितको घर वरिपरि सुरक्षा पहरा दिइरहेको छ । प्रहरीले ती व्यक्तिले उदितलाई एक महिनामा तीनपटक एकै नम्बरबाट फोन गरेर धम्की दिएको बताएको छ । उदितलाई धम्की दिने ती व्यक्तिको नाम लक्ष्मण भएको बताइएको छ । ती व्यक्तिले फोनमा उदितलाई कतिबेला घरबाट निस्कन्छन् र घरबाट निस्केर कहाँ–कहाँ पुग्छन् भन्नेमा आफ्नो नजर रहेको भन्दै ज्यान मार्ने धम्की दिएका हुन् ।
उदितलाई फोन आउने सो नम्बर एक सेक्युरिटी गार्डको भएको प्रहरीले जनाएको छ । तीन महिना अगाडि विहारमा ती गार्डले मोबाइल हराएको र सो मोबाइल सो व्यक्तिले भेटेको प्रहरीको भनाइ छ । मोबाइलमा उदितको नम्बर भएका कारण फोन गरेर धम्की दिएको प्रहरीले जनाएको छ ।