धरान/ ‘मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९’ को लागि पूर्वबाट प्रतियोगी खोज्न आयोजकले धरानमा पनि अडिसन गर्ने भएको छ ।
आयोजक ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले आगामी शनिबार धरानको हाङ्कुक सारङ कोरियन रेस्टुरेण्टमा अडिसन गर्न लागेको हो । यो वर्षदेखि अडिसनको लागि देशव्यापीरूपमा किङफिसर मिस एसिया प्यासिफिक इण्टरनेशनलमा नेपाल जाने योजनाअनुरूप पोखरा, धरान र बुटवलमा साउन १८ गते शनिबार, चितवनमा साउन २५ गते शनिबार र काठमाडौं मा साउन २७ गते सोमबार अडिसन राखिएको ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले बताए ।
सबै ठाउँको अडिसनपछि साउन ३० बाट प्रशिक्षण शुरु गरिनेछ । धरान अडिसनको लागि प्रमुख जजको रूपमा अभिनेता तथा सञ्चारकर्मी सुरजसिंह ठकुरी सहभागी हुने बताइएको छ । अडिसनमा भाग लिन ५.४ इञ्च उचाई र प्लस २ उत्तीर्ण हुनु पर्नेछ ।
किङफिसर मुख्य–प्रयोजकका रूपमा रहने र एस्पाएर करियर कन्सल्टेन्सी शैक्षिक साझेदार तथा आईईसी स्कुल अफ आर्ट एण्ड फेसन आधिकारिक ड्रेस डिजाइनरका रूपमा रहने कार्यक्रमको नेपालमा मिस एसिया प्यासिफिक इन्टरनेशनल दोस्रो पटक आयोजना भइरहेको छ ।

प्रतियोगीहरूमध्ये अन्तिम चरणमा पुगेका सहभागीहरूलाई काठमाडौंमा सम्बन्धित क्षेत्रका दक्ष एवम् विशेषज्ञहरूद्वारा दुई हप्ताको प्रशिक्षण दिई फाइनलमा सहभागी गराइनेछ ।
मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९ मा विजेता हुनेले सेप्टेम्बर २५ देखि १० अक्टोबरसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने ५१ औं मिस एसिया प्यासिफिक इन्टरनेशनल २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् भने २ लाख बराबरको पुरस्कारसँगै २५ हजार नगद पुरस्कारसमेत पाउनेछन् ।
त्यस्तै फस्ट रनर अपले १ लाख २५ हजार बराबरको पुरस्कारसँगै १५ हजार नगद पुरस्कार र मिस टुरिजम क्विन इन्टरनेशनल २०१९ आयोजना हुने राष्ट्रमा सहभागिता जनाउन पाउनेछन् । त्यसैगरी सेकेण्ड रनर अपले १ लाख १० हजार बराबरको पुरस्कार सँगै दक्षिण कोरियामा आयोजना हुने मिस ग्लोबल ब्युटी क्विन २०१९ मा नेपालका तर्फबाट सहभागिता जनाउन पाउनेछन् ।