धरान/ नवीन रम्तेललाई धेरैले धरानको संयम ड्राइभिङ सेण्टरका सञ्चालक भनेर चिन्छन् । तर उनको अर्को पाटो छ, कलाकारिता । कलाकारिता क्षेत्रमा उनी ‘नवीन विशाल’ का रूपमा परिचित छन् ।

नवीनले फिल्म, नाटक, टेलिसिरियलमा अभिनय र निर्देशन गरेका छन्, पटकथा लेखेका छन् । गीत, कथा लेखेका छन् ।  नविनको कलाकारिता यात्रा करिब तीन दशकदेखि निरन्तर छ ।

२०४६ सालको जनआन्दोलनपछि सङ्खुवासभाको खाँदबारीमा ‘एकता सांस्कृतिक परिवार’ स्थापना भयो । त्यही समूहमा खेमराज गुरुङ, नवीन खड्का, पुस्तका खड्का, सुमन श्रेष्ठसँगै थिए नवीन रम्तेल । नवीन हास्य कलाकार थिए समूहको । उनले ‘दशैं होइन दशा’, ‘जनताको सत्रु’ जस्ता नाटकमा अभिनय गरे । उनी भन्छन्, ‘खेमराज पनि त्यतिबेला नाटकमै अभिनय गर्थे । पछि गायनबाट चर्चित भएका थिए ।’

खाँदबारीमा कलाकारिता गर्दागर्दै नविन २०४९ सालतिर मोरङ झरे । उनको भेट भयो, फिल्म निर्देशक किशोर सुब्बासँग । त्यसपछि सुब्बाको असिष्टेण्ट भएर उनले धेरै फिल्ममा काम गरे । ‘जय माँ सताक्षी’, ‘मुक्ति’, ‘रिमठिम’ जस्ता फिल्ममा काम गरेका नवीनले फिल्म ‘आफ्नो बिरानो’ मा कमेडी कलाकारको रोल गरे ।

२०६५ सालतिर धरान आएका नवीनले गायक प्रकाश पौडेलसँग मिलेर धेरै प्रोजेक्टमा काम गरे । धरानमा बनेका फिल्महरू ‘निनी’, ‘नाइँ मलाई केही चाहिँदैन’, ‘ड्रग्स : एक चुनौति’ जस्ता फिल्ममा स्क्रिप्ट राइटरदेखि सहायक निर्देशकसम्म भएर काम गरे । उनले चेसुङ र बस नं. १३६ मा पनि काम गरे ।

त्यसो त प्रकाश पौडेलको टेलिसिरियल ‘डा.साब’ मा नवीन सहायक निर्देशक, स्क्रिप्ट राइटरदेखि कलाकारसम्म हुन् । उनले गीत पनि लेखे र गाए । ‘भुक्के पाउरोटी’ बोलको गीत आफ्नै स्वरमा रेकर्ड गराए । उनी भन्छन्, ‘अहिले पनि गीत लेखन र कलाकारिताको काम गरिरहेको छु ।’

कलाकारिता र आफ्नै ड्राइभिङ सेण्टर छाडेर उनी केही वर्ष वैदेशिक रोजगारीमा गए । कहिले थाइल्याण्ड पुगे, कहिले इराक । उनी छुट्टीमा घर आएका थिए फर्केर विदेश जान मन लागेन त्यसपछि यतै आफ्नै व्यवसाय सम्हालेर बसे । ‘२०४६ को जनआन्दोलनले अरूलाई राजनीतिको नशा लाग्यो, मलाई चाहिँ कलाकारिताको’ उनी भन्छन्, ‘देश विदेश जहाँ गए पनि, जुन पेशा गरे पनि कलाकारिता जस्तो मज्जा लाग्दैन ।’

अहिले उनी दिनभर संयम ड्राइभिङ सेण्टरमा सिकाउँछन् । साँझमा उनले एमएन चाइनिज फुड नामको ठेला व्यापार पनि शु रु गरेका छन् । विदेशमा सिकेको सीप यहाँ प्रयोग गरेको उनी बताउँछन् । कलाकारिता, व्यवसाय, देशविदेश गर्दै उनले पढाइलाई निरन्तरता पनि दिए । राजनीति शास्त्रमा एमए गरेका उनी भन्छन्, ‘आफ्ना यिनै व्यवसायसँगै कलाकारितालाई निरन्तरता दिन्छु ।’