पहिलेका तीजमा प्रायः महिलाले गाएका तीज गीतले बजार पिट्थ्यो । तर यसपटक फरक किसिमको गीत ‘बीच–बीचमा’ ले तीज बजार कब्जा गर्यो ।
गायक दुर्गेश थापाले केही समयअघि मात्र सार्वजनिक गरेको यो गीत तीजभर जताततै घन्कियो । यो गीत मात्र हिट भएन, गायक दुर्गेश पनि व्यस्त बने ।
यो गीत यसरी हिट होला भन्ने उनले पनि सोचेका थिएनन् । शुरुमा गीत त्यसरी ‘भाइरल’ पनि भएको थिएन । दुर्गेश भन्छन्, ‘यसरी हिट होला भन्ने त लागेकै थिएन तर एकखाले माहोल बनाउनेमा भने ढुक्क थिएँ ।’
‘शुरुमा यो गीत एकलाख हाराहारी दर्शकले युट्युबमा हेर्नुभएको थियो, टिकटकमा भिडियोहरू बन्न थालेपछि भने एकाएक हिट भयो’ दुर्गेश सुनाउँछन्, ‘पहिलेका गीतहरूले मलाई सीमित वर्गमाझ चिनाएको थियो, यो गीतले मलाई सबै दर्शकमाझ पुर्याइदियो ।’

रोमान्टिक शैलीमा तयार पारिएको गीतलाई दर्शकले उत्तिकै रुचाएका छन् । गीतमा उनले प्रयोग गरेका शब्द पनि आम दर्शकलाई मन परेका छन् । सबै वर्ग र समूहले गीत खुबै रुचाएका छन् ।
अहिले उनको गीत यसरी भाइरल भइदियो कि, सार्वजनिक यातायातदेखि कुनै पनि तीजका पार्टीमा नबजेको भन्ने हुँदैन । यही गीतमा जो पनि झुमेको देख्दा दुर्गेशलाई रमाइलो लाग्छ ।
यही गीतका कारण दुर्गेश मात्र भाइरल भएनन् । सामाजिक सञ्जाल फेसबुक र टिकटकका माध्यमबाट अरू पनि चर्चामा रहे । त्यसो त दुर्गेश यसअघि पनि चर्चामा थिए । उनका गीतमा नयाँपन हुन्छ । त्यसैले पनि होला, उनका आफ्नै फ्यान फलोइङ छन् । म्युजिक भिडियोमा मोडलिङ पनि गरिरहेका हुन्छन् । गायक बद्री पङ्गेनीको गीत ‘पानी सलल’ मा गरेको अभिनयका कारण उनको तारिफ भएको थियो ।
‘बीच्च–बीच्चमा’ तीजको गीत भए पनि प्रस्तुति फरक छ । दर्शकलाई यही स्वाद मन परेको छ । यो गीत उनले राम्रै आम्दानी गरेको बताउँछन् । गीत हिट भएका कारण स्टेजका कार्यक्रम र देश–विदेशमा त पुगेकै छन् । युट्युबबाट पनि कमाइ भएको छ । उनी भन्छन्, ‘गीतले चर्चा दिनु त एउटा कुरा हो, कमाइको हिसाबले पनि राम्रै छ ।’