धरान । सन् १९८७ मा रिलिज भएको बलिउड फिल्म मिस्टर इण्डियाबाट ‘हवा हवाई गर्ल’ को रूपमा आफ्नो पहिचान बनाएकी श्रीदेवीको हवा हवाई रूप सिङ्गापुरमा देखिएको छ ।
भौतिक रूपमा प्राण त्याग गरिसकेकी श्रीदेवीको हवा हवाई रूप म्याडम तुसाद सङ्ग्राहालयमा देखिने भएको हो । उनको मैन प्रतिमा राखिएको हो । सङ्ग्रहालयले विभिन्न क्षेत्रका व्यक्तित्वहरूको मैन प्रतिमा राख्ने क्रममा श्रीदेवीको पनि प्रतिमा राखेको हो । यो प्रतिमासँगै श्रीदेवीको जीवन्तताबारे थप बहस हुन थालेको छ ।

शुक्रबार श्रीदेवीको प्रतिमा अनावरण गरिएको छ । त्यसक्रममा उनका पति बोनी कपुर, छोरीद्वय जान्हवी र खुशी कपुर एकसाथ सिङ्गापुर पुगेका थिए । बोनी कपुरले परिवारको एक सदस्यको प्रतिमा बन्नु आफैमा सम्मानको विषय भएको बताए ।

उनी दिवङ्गत श्रीमतीको प्रतिमा देखेर भावुक बनेका थिए । उनले भने, ‘श्रीदेवी परिवारको मनमा मात्रै होइन, करोडौं फ्यानको मनमा छिन् ।’ श्रीदेवीको केही वर्षअघि पारिवारिक विहेको क्रममा दुबईको एक होटलको बाथटबमा परेर मृत्यु भएको थियो । उनी लेडी बिग बीको उपनामलेसमेत चिनिँदै आएकी थिइन् ।