अभिनेता विपिन कार्की ‘सेल्फी किङ’ बन्ने भएका छन् । उनको मुख्य भूमिका रहने फिल्म ‘सेल्फी किङ’ को घोषणा भएको छ ।
फिल्ममा विपिनले ‘सेल्फी किङ’ कै भूमिका निर्वाह गर्ने बताइएको छ ।

गतवर्ष ‘प्रसाद’ फिल्म ल्याएका निर्देशक दिनेश राउत र निर्माता सुभाष थापाको संयुक्त लगानी रहने फिल्म विशाल सापकोटाले निर्देशन गर्नेछन् । अमेरिकाको लस एञ्जलसको सिटी कलेजमा फिल्म निर्देशन पढेका विशालको यो डेब्यु फिल्म हो ।

विपिन कार्कीसँगै लक्ष्मी बर्देवा, भूवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश विसुराललगायतका कलाकारको फिल्ममा अभिनय रहनेछ । अभिनेत्री केकी अधिकारीले पनि फिल्ममा विशेष भूमिकामा अभिनय गर्ने बताइएको छ ।

एउटा हास्यकलाकारको कथामा आफूले फिल्म बनाउन लागेको निर्देशक विशालले कार्यक्रममा बताए । निर्देशनबाट निर्माणमा देखिएका दिनेश राउतले विशालले सुनाएको कन्सेप्ट आफूलाई मन परेको र उसको ट्यालेण्टलाई विश्वास गरेर टिमअप गरेको बताए ।

निर्देशक विशालकै लेखन रहेको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषालको सङ्गीत, बि. पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन रहनेछ । भाद्र २४ बाट छायाङ्कनमा जाने फिल्मको सह–निर्माता राजेश बिसुराल र प्रबल कोइराला रहेका छन् ।