धरान/ मलेसियाको क्वालालम्पुरमा शुक्रबार आयोजना भएको ‘मिस कस्मोपोलिटन वल्र्ड २०१९’ को उपाधि नेपालकी प्रियारानी लामाले जितेकी छन् ।

ग्राण्ड फिनालेका लागि नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएकी प्रियारानी अन्य ३१ देशका प्रतिस्पर्धीलाई पछि पार्दै मिस कस्मोपोलिटन वल्र्ड २०१९ को ताज पहिरिन सफल भएकी हुन् ।

विजेता प्रियारानीलाई गत वर्षकी विजेता कोरियाकी सोयेन लिमले ताज पहिराइदिएकी थिइन् । प्रियारानी मुख्य उपाधिसँगै बेस्ट नेसनल कस्ट्युमको टाइटल विजेता र बेस्ट ट्यालेण्ट को फस्र्ट रनर अप विजेतासमेत बनिन् ।

मलेसियाको पुट्रजाया म्यारोट होटलमा भव्य रूपमा आयोजित मिस कस्मोपोलिटन वल्र्ड २०१९ को पाँचौं संस्करणमा प्रियाले सौन्दर्य, व्यक्तित्व, बौद्धिकता, प्रश्न–उत्तर र प्रतिभामा उत्कृष्ट अङ्क प्राप्त गर्दै विजयी भएकी हुन् ।

मिस कस्मोपोलिटन वल्र्ड २०१९ मा मलेसियाकी क्रिस्टिन चाइ छिन् फस्ट रन रअप, नेदरल्याण्डकी मृत बिट्स सेकेण्ड रन रअप, फिलिपिन्सकी क्लारिसा इसिद्रो थर्ड रनर अप र रसियाकी इकाटेरिना भेनी बर्गर फोर्थ रनर अप घोषित भएकी थिइन् ।

धरानको वीरेन्द्र मेमोरियल कलेजबाट माइक्रो बाइलोजीमा स्नातक २८ वर्र्षीया प्रियारानी मिस पूर्वाञ्चल २०१० की फस्ट रनर अप उपाधि विजेता हुन् भने २०११ देखि मिस पूर्वाञ्चलको कोरियोग्राफरको रूपमा कार्यरत छिन् ।

प्रियारानीले मिस नेपाल २०१० मा सहभागिता जनाएर मिस बेस्ट कम्प्लिकेसनको अवार्ड जितेकी थिइन् । हाल उनी नेपाल वान टेलिभिजनका टेलिभिजन कार्यक्रम प्रस्तोतासँगै मोडल तथा कोरियोग्राफरका रूपमा सक्रिय रहेकी छन् ।