धरान । एक नम्बर प्रदेश सरकारको आयोजनामा यही कात्तिक २९ देखि शुरु हुने ‘धरान चलचित्र महोत्सव’ को कलाकार सम्मान र चलचित्र छनोटमा विवाद उत्पन्न भएको छ ।
महोत्सव सफल बनाउन गठन गरिएको चलचित्र महोत्सव व्यवस्थापन सहयोग समिति र उपसमितिका सदस्यहरूले नै सम्मानका लागि कलाकार छनोट र महोत्सवमा प्रदर्शन गरिने स्थानीय चलचित्रको छनोटमा चित्त नबुझाएपछि विवाद उत्पन्न भएको हो ।

मूल समितिले व्यवस्थापन सहयोग समितिलाई लामो समय चलचित्र क्षेत्रमा बिताएका १५ जनाको नाम सिफारिस गर्न भनेको थियो तर समितिका सदस्यहरूले आ–आफ्नै नाम सिफारिस गरेपछि बैठकमै विवाद उत्पन्न भयो । त्यसपछि कतिपय सदस्य बैठकमै उपस्थित भएका छैनन् । समितिका सदस्य गोपाल एक्तेन समितिका केही व्यक्तिले आफूखुशी काम गर्न थालेपछि बैठकमा जान छाडेको बताउँछन् ।

आफूले राम्रो काम गरेका मान्छे सिफारिस गरौं भन्दा सुनुवाइ नभएको उनको गुनासो छ । उनी भन्छन्, ‘हामीलाई १५ जना सिफारिस गर्ने निर्देशन थियो तर हामीले भनेको सुन्दै नसुनी २१ जनाको नाम पठाएछन् । मैले छनोट समितिको संयोजक अरुण प्रधानसँग क–कसको नाम सिफारिस भयो भनेर जानकारी मागेँ तर दिएनन् । त्यसपछि त मिटिङमा पनि मलाई बोलाएनन् ।’

समितिकै सदस्य नवीन गुरुङले पनि सिफारिसमा चित्त नबुझेपछि बैठकमै नोटअफ डिसेन्ट लेखेका थिए । उनले असन्तुष्टि जनाउँदै फेसबुक स्टाटस समेत लेखेका थिए । उनले समितिमै बसेका मान्छेले आफैले आफैलाई सम्मानका लागि सिफारिस गरेपछि चित्त नबुझेर असहमति जनाइएको तर आफ्नै ठाउँमा यत्रो महोत्सव हुँदै छ भनेर पछि हटाएको बताए ।

समितिका सदस्य रहेका लालमान योञ्जनको नाम सम्मानका लागि सिफारिस भएपछि बैठकमा विवाद उठेको थियो । दोस्रो मिटिङमा उनको नाम हटाइएको थियो तर पछि फेरि नाम थपिएको अर्का एक सदस्यले बताए । विवाद उत्पन्न भएपछि योञ्जनले समितिबाट राजीनामा दिएका छन् । सम्मानका लागि भने उनी सिफारिस भएका छन् । त्यसैगरी सम्मानका लागि सिफारिस भएपछि कलाकार पर्शुराम चौधरीले पनि समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

समितिको सदस्य रहेका कलाकार सुवास थापालाई पनि कतिपय निर्णय चित्त बुझेको छैन । उनले एक पुस्ताले अर्को पुस्तालाई नचिन्ने अवस्था आएपछि बैठकमा जान इच्छा नलागेको बताए । सम्मानका लागि सिनियरहरूलाई छाडेर जुनियरहरूको नाम आयो । उनले भने, ‘राजीनामा दिएको छैन तर राजीनामा पत्र तयारी अवस्थामा छ ।’

समितिका सदस्य रहेका लालमान योञ्जनको नाम सम्मानका लागि सिफारिस भएपछि बैठकमा विवाद उठेको थियो । दोस्रो मिटिङमा उनको नाम हटाइएको थियो तर पछि फेरि नाम थपिएको अर्का एक सदस्यले बताए । विवाद उत्पन्न भएपछि योञ्जनले समितिबाट राजीनामा दिएका छन् । सम्मानका लागि भने उनी सिफारिस भएका छन् । त्यसैगरी सम्मानका लागि सिफारिस भएपछि कलाकार पर्शुराम चौधरीले पनि समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

त्यसो त केही महिनाअघि प्रदेशका मुख्यमन्त्री शेरधन राईले सार्वजनिक कार्यक्रममा प्रदेशले आयोजना गर्न लागेको चलचित्र महोत्सवमा वरिष्ठ गायक दीप श्रेष्ठलाई विशेष सम्मान गरिने बताएका थिए । तर सम्मानका लागि स्थानीय समितिले गरेको सिफारिसमा उनको नाम भने छैन ।

महोत्सवमा प्रदर्शनका लागि २१ चलचित्र छनोट भइसकेका छन् । त्यसबाहेक स्थानीयस्तरमा निर्माण भएका केही चलचित्र पनि छनोट गर्ने कार्यक्रम थियो । तर समितिका पदाधिकारीबीच विवाद उत्पन्न भयो । एउटा समूहले आएकामध्ये एउटा उत्कृष्ट फिल्ममात्र प्रदर्शन गर्ने अडान राख्यो भने अर्को समूहले आएका सबैलाई राख्नु पर्ने माग ग¥यो । स्थानीय समितिलाई १० वटा चलचित्र प्राप्त भएका थिए । त्यसमा शुरुमा समितिकै पदाधिकारीका चलचित्र पनि थिए तर विवाद उत्पन्न भएपछि २ वटा फिल्म फिर्ता गरिएको छ । त्यसबाहेकका ८ फिल्म सबै प्रदर्शन गर्ने तयारी गरिएको छ ।

स्थानीय चलचित्रकर्मीहरूबीच विवाद उत्पन्न भएको विषयमा महोत्सव व्यवस्थापन सहयोग समितिका संयोजक विजय सुब्बा सम्मानका लागि वा चलचित्र छनोट गर्ने काम विवाद उत्पन्न हुने विषय भएकाले यसलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘अनुभवको कमीले पनि केही कुराहरू नमिलेको हुन सक्छ तर हामी सकेसम्म राम्रो गर्ने कोशिसमा छौं ।’

महोत्सव कात्तिक २९ गतेदेखि मङ्सिर २ गतेसम्म धरान सभागृहमा सञ्चालन हुने कार्यक्रम छ । तर प्रदेश सरकारले महत्वाकांक्षी कार्यक्रमका रूपमा राखेको महोत्सव शुरु हुन एकसाताभन्दा कम समय बाँकी रहँदा तयारी भने फितलो छ । स्थानीयस्तरमा गठन भएका समितिका सदस्यहरू आपसी विवादमा अल्झिएका छन् ।