धनकुटा । फुलन्देकी आमा नामले परिचित हास्य कलाकार उमेश राईले धनकुटामा प्रस्तुति दिएका छन् ।
प्रथम किराती राजा यलम्बरको निर्माणाधीन सालिकको निर्माण कार्य पूरा गर्न सहयोग जुटाउने उद्देश्यले बुधबार साँझ आयोजित बृहत् साँस्कृतिक कार्यक्रममा उनले स्थानीयलाई हँसाएर मनोरञ्जन दिए । किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटा र किरात राई कलाकार सङ्घ धनकुटाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उनको प्रस्तुति हेर्न रातिसम्म दर्शकहरू पर्खिबसेका थिए ।

धनकुटाको त्रिवेणी माविको प्राङ्गणमा सम्पन्न कार्यक्रममा फुलन्देकी आमाको प्रस्तुति अपरान्ह ५ बजेदेखि शुरु हुने जानकारी आयोजकले दिए पनि धनकुटेली दर्शकले रातको साढे ९ बजेसम्म कुर्नु परेको थियो ।

धनकुटाका दर्शकले टेलिभिजन र युट्युब च्यानलहरूमा मात्र देखेका उनलाई नजिकबाट हेर्न हजारौं दर्शक त्रिवेणी माविको प्राङ्गणमा आएका थिए । दर्शकहरू फुलन्देको आमाको प्रस्तुतिमा सँगै रमाएर झुमेका थिए । उमेशले कार्यक्रममा नृत्यसमेत प्रस्तुत गरेका थिए । उनको साथमा धनकुटाका कलाकारहरू जुनी खालिङ, पूर्ण राई, राज बान्तवालगायत त्रिवेणी वराह डान्स सेण्टर धनकुटाका कलाकारले गायन र नृत्य प्रस्तुति दिएका थिए ।

धनकुटाको राई कुवा टोलमा बन्दै गरेको प्रथम किराती राजा यलम्वरको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगे पनि मूर्ति ल्याएर अनावरण गर्न रकम अपुग भएकोले कार्यक्रम आयोजना गरिएको किरात राई यायोक्खा जिल्ला अध्यक्ष नगेन्द्र राईले बताए । अध्यक्ष राईका अनुसार मूर्ति ल्याउन र अनावरण गर्न अझै ४ लाख बढी रकम अपुग छ । कार्यक्रमबाट ८५ हजार आम्दानी भएको र १ लाखभन्दा बढी खर्च भएकाले आर्थिक सङ्कलनमा खासै टेवा नपुगेको राईले बताए ।