बिर्तामोड । अर्जुनधारा नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि बिहीबार स्थानीय संघ संस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग अन्तक्रिया गरेको छ ।

शनिश्चरेको सामुदायिक भवनमा आयोजित कार्यक्रममा उपस्थित स्थानीय संघ संस्थाका प्रतिनिधिले नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै नेकपाका नगर अध्यक्ष प्रेमसागर सापकोटाले नगरपालिकाले प्रवेशद्धारमा नगरमा रहेका पर्यटकीय स्थलको दुरी सहितको नक्सा राख्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य बिर्ख प्रधानले पर्यटनको अथाह सम्भावना हुँदा हुँदैपनि प्रचारमा कमी रहेको हुनाले यसको तिब्र प्रचार प्रसार गर्नुपर्ने बताए । उनले धार्मिक र पर्या पर्यटनको प्रचुर सम्भावना हुँदा हुँदैपनि त्यसको सही सदुपयोग हुन नसकेकोमा नगरपालिकाले ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले पर्यटकलाई स्थानीय पर्यटनस्थलको बारेमा जानकारी दिनसक्ने युवा परिचालन गर्नुपर्ने बताए । नगरका उपमेयर कमला आचार्यले पर्यटकसँग सभ्य र शिष्ट भएर मन जित्नका लागि ब्यवसायीलाई प्रशिक्षित गर्नुपर्ने बताइन् । अर्जुनधारा भ्रमणमा आउने पर्यटकले कोसेलीका रुपमा स्थानीय उत्पादन लान सक्ने वाताबरण बनाउनुपर्ने बताईन् ।

मेयर हरिकुमार रानाले पर्या पर्यटनका र कृषिका लागि प्रचुर सम्भावना भएको अर्जुनधारा नगरपालिकालाई कृषि अध्ययनको क्षेत्र बनाउने बताए । उनले पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले निर्माण गर्ने गुरुयोजनालाई सहयोग गर्न स्थानीयवासीले सहयोग गर्नुपर्ने बताए ।