संखुवासभा / संखुवासभा । सिलिचोङ गाउँपालिकाको पर्यटकीय सम्भावना बोकेको नागीटारमा पर्यटनको हिसाबले महत्वपुर्ण स्थानको रुपमा रहेको छ । गाउँपालिको केन्द्र ताम्कुमा रहेको यो टारदेखि सिलिचोङ हिमाललगायतका हिम शृङ्खलाहरुको दृश्य अवलोकन गर्न पाईन्छ । १७ सय हाराहारी उचाई रहेको यो ठाउँमा वनभोज जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना हुने गरेको छ । गाउँपालिकामा कुनै कामले जाँदा नागिटारमा गएर एकैछिन आनन्द लिने मानिसहरु पाइन्छ । नागीटारको नजिकै लाम पोखरी, गुफाडाँडा, सुर्के डांडा लगायतका मनोरम दृश्यका कारण बाह्य तथा आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ ।
सडक सञ्जालले जोडेसंगै यो स्थान पर्यटनको दृष्टिले विकसित हुने विश्वास रहेको छ । सम्म परेको चौर, विचमा पानीको पोखरी माथिल्लो खण्डमा हिमाली क्षेत्रमा पाइने रुखहरुको छहारी रहेको यो स्थानमा पुग्ने जो कोहिलाई लोभ्याउने गरेको छ । गाउँपालिका भित्र तथा बाहिराका पर्यटकहरु चौरमा लडिबुडी गर्न अनि हिमालसंग मुस्कुराउँदै चिसो हावामा रमाउन आउने गर्दछन् ।
सडक सञ्जालले जोडेसंगै अझ संख्या बढेको सिलिचोङ गाउँपालिका ३ का वडाध्यक्ष प्रतापसिं तामाङले बताए । उनले यस स्थानमा आउने पर्यटकको लागि हाल सम्म आवश्यक व्यवस्था गर्न नसकिएको स्वीकार्दै आगमी दिनमा विकास गर्दै लैजाने बताए । गाउँपालिकाकै केन्द्रमा रहेको यो स्थान गाउँपालिका कार्यालयदेखि करिब २ कि.मी. माथि जानु पर्छ । नागीटार नजिकै सिकिदिम पुनर्वासमा ठाउँमा होम स्टे सहितको एकिकृत नमुना बस्तीको रुपमा विकास गरिने गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए । उनले जसको लागि गुरु योजना बनाईने बताए ।

पटक पटक गरेर नागीटार पुगेका खाँदबारी नगरपालिका ९ का व्यवसायी उमेश चौहानलाई खुब मन पर्छ नागिटार । टेन्ट अनि परिवारसहित नै २४ घण्टा विताउने उनको रहर छ । उनलाई यो ठाउँमा आउँदा एकदम आनन्द आएको भनाई व्यक्त गरे । यस क्षेत्रमा होम स्टे, रिसोर्ट लगायतको विकास गर्न सके नेपालकै नमुना स्थानको रुपमा विकास गर्न सकिने उनको भनाई छ । नागीटारमा विभिन्न पर्व तथा दिन विशेष मनोरञ्जन गर्ने तथा पिकनिकको आयोजना समेत हुने गरेको छ । व्यवपारी, कर्मचारी लगायत विभिन्न व्यक्तिहरुको जमघट हुने गरेको छ ।
खुल्ला चौर, वनजंगल र ढकमक्क गुराँस फुल्ने, हिमाली श्रृङ्खलासँग जोडिएको यो ठाउँ उत्कृष्ठ रहेको झापाका कुमार अनुरागीले बताए । बीचको पोखरीलाई व्यवस्थित गर्दै टारलाई व्यवस्थित बनाउनु पर्ने उनको सुझाव छ । पहिलो पटक नागीटार आएका उन्ले हावापनी र तामाङ बस्तीले आफुलाई तानेको बताए । तामाङ बस्तीमा रहेको अतिथि सत्कार र मनोरम दृश्य नै यो स्थानको सम्पत्ति रहेको उनले बताए ।
नागीटारको नजिकै लामपोखरी रहेको छ । लाम पोखरी धार्मिक र पर्यटकीय हिसावले महत्वपुर्ण रहेको छ । लाम पोखरी परापुर्व कालमा अलौकिक शक्ति समेत रहेको किंवदन्ती पाईन्छ । नागीटार क्षेत्रमा केहि व्यवस्थित बनाएर यसलाई पर्यटकीय गन्तव्य बन्नेमा पक्का छ ।