‘पर्यटन नारा’ शब्द सुन्दा सामान्य लाग्छ । यसको अर्थ भने गम्भीर हुन्छ । पर्यटन नाराभित्र पर्यटन प्रवद्र्धन गरिरहेको कुनै पनि देश, प्रदेशको पर्यटनको अनुहार देखिन्छ । पर्यटन नाराले पर्यटन ब्रान्डको सुन्दर झल्को दिन्छ । कुन देश र कुन प्रदेश के बेच्न चाहन्छ भन्ने कुरा पर्यटन नारामा आउँछ । पर्यटनमा कसको कुन ब्रान्ड हो भन्ने कुरा पर्यटन नारामा आँउछ ।

उदाहरणको लागि मलेसियाको पर्यटन नारा छ– ‘मलेसिया ट्रुलि एसिया’ । अर्थात् मलेसिया सच्चा एसिया । युरोप नजिकै अवस्थिति भएको मलेसियाले एसियाको एक विशाल अनुभव लिने भेन्यु आफ्नो देश भएको भन्दै यस्तो नारा बेचिरहेको छ । भुटानको नारा छ– ‘ह्यापिनेस इज अ प्लेस’ अर्थात् खुशी रहने एक स्थान हो । प्रतिव्यक्ति आय भन्दा प्रआनन्दको मापन हुनुपर्ने तर्क गर्ने भुटान आफूलाई सबैभन्दा खुशी मान्छेहरू भएको स्थान मान्छ । उसले यो ब्रान्ड बेच्न सफल भएको छ । भारतको नारा छ– ‘इन्क्रिडिबल इन्डिया’ अर्थात् अपूर्व भारत ।

पर्यटन वर्ष मनाइरहँदा नेपालको नारा छ– ‘भिजिट नेपाल२०२०, लाइफ टाइम एक्सपेरियेन्सेस’ अर्थात् नेपाल भ्रमण २०२०ः जिन्दगीभरका अनुभवहरू । साहसिक पर्यटन र खासगरी प्रकृतिसँग मात्रै जोडिएर नेपालको प्रचार भएको पुरानो चलन अन्त्य गर्दै नेपाल सरकाले जिन्दगीभरका अनुभवहरू भनेर नयाँपन दिन खोजेको छ । यस्तै सन् १९९८ को पहिलो नेपाल भ्रमण वर्षको नारा थियो–‘भिजिट नेपाल १९९८ः अ वल्ड अफ इट्स ओन’ अर्थात् नेपाल भ्रमण १९९८ः आफ्नै खाले एक दुनियाँ ।

नेपालका अन्य चलेका दुई चर्चित पर्यटन नाराहरू छन् । पहिलो हो– ‘हेभन इज मिथ, नेपाल इज रियल’ अर्थात् स्वर्ग मिथ्या हो, नेपाल सत्य हो । यो नारा विशेषतः विभिन्न विदेशीहरूलाई पर्यटन एजेन्सीहरूले प्रचारमा ल्याएका छन् ।

नेपालको दोस्रो चर्चित नारा हो–‘नेचुरल्ली नेपाल ः वान्स इज नट इनफ’ अर्थात् प्राकृतिक नेपालः एकपटकमा मात्रै अपूरो । नेपाल सरकार र पर्यटन बोर्डका अधिकांश विश्वभरमा हुने कार्यक्रमहरूमा बिक्ने नारा यही हो । सबैभन्दा धेरै सार्वजनिक रूपमा प्रयोग भएको नेपालको राष्ट्रिय पर्यटन नारा यही हो । अबको काम प्रदेशको पर्यटन नाराको न्वारान गर्नु हो ।

प्रदेश १ को लागि पर्यटन नारा आवश्यक भइसकेको छ । नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश १ मा पाँच लाख पर्यटक ल्याउने प्रदेश सरकारकोे लक्ष्य छ । लक्ष्य भेट्न गरिने प्रयासमा आवश्यक पर्ने कुरामा पर्यटन नारा पनि एक हो । प्रदेश १ ले के बेच्ने, आफ्नो पर्यटनको मूलप्रवाहमा के राख्ने, प्रचारमा के कुरालाई ज्यादा महŒव दिने भन्ने कुरा त्यो नाराले निर्धारण गर्छ ।

हरेक देशमा र हरेक प्रदेशमा थुप्रै क्षेत्रका पर्यटन प्याकेज बन्छन् । नाराहरुरू भने सबैभन्दा धेरैको ध्यान तानिने र बिक्न सक्ने कुराहरूका बनाइन्छन् । ‘नेचुरल्ली नेपालः वान्स इज नट इनफ’ भन्ने राष्ट्रिय नारा यसैको एक उदाहरण हो । नेपालको सबैभन्दा धेरै बिक्री हुने पक्ष नै प्रकृतिको वरदान हो । यही फ्रेब्रुअरि १२ मा सार्वजनिक भएको विश्व भोटिङमा नेपाल विश्वका २० सुन्दर मुलुकहरूमा एक मुलुकको रूपमा भोट पाएको छ ।

बेलायतमा मुख्यालय भएको रगगाइड्स नामक पर्यटन प्रकाशनले गरेको भोटिङमा नेपाल विश्वका सबैभन्दा सुन्दर मुलुकको सूचीमा प¥र्यो । रगगाइड्सका अनुसार अधिकांश भोटरहरूले नेपाल प्रकृतिको वरदार भएको आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेका छन् । यही विश्वको ध्यानमा गएको नेपाली प्याकेजको ब्रान्डिङकै क्रममा ‘नेचुरल्ली नेपालः वान्स इज नट इनफ’ नारा आएको हुनसक्छ ।

अब कुरा गर्रौं प्रदेश १ को पर्यटन नाराको । नेपालको सबैभन्दा होचो भूभाग केचनाकलनदेखि पृथ्वीको सबैभन्दा अग्लो सगरमाथा समेटेको प्रदेश १ अत्यन्तै महŒवपूर्ण छ । हिमालय क्षेत्रमा हिम ऋङ्खलादेखि त्यहाँबाट उत्पत्ति हुने नदीहरू हुँदै तलतलका पाहाड, उपत्यका हुँदै समथर सबै क्षेत्रमा प्रदेश १ मा एकसेएक पर्यटन क्षेत्रहरू छन् ।

धार्मिक, सांस्कृतिकदेखि प्राकृतिक कुरामा प्रदेश १ धनी छ । यी सबै कुरामा कुन कुरा सबैभन्दा धेरै बिक्री गर्न सकिन्छ वा कुन चाहिँ कम बिक्री भएको छ तर हुनसक्छ भन्ने विज्ञहरूको साझा निचोड निकालेर प्रदेश १ ले आफ्नो पर्यटन नारा बनाउन सक्छ । नारा बनाउँदा आन्तरिक पर्यटन, छिमेकी भारतिय पर्यटकदेखि विदेशीलाई आकर्षण हुने एकै नारा वा भिन्नभिन्न नारा बनाउन सकिन्छ । गण्डकी प्रदेश बाट यस्तो कदम चाल्न सिक्न सकिन्छ । गण्डकी प्रदेशका व्यवसायीहरूले भारतीय बजारमा लाउने नारा हो– ‘गर्मी सेम बेहाल, चलोे नेपाल ’।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङमा सेल्फी लिएको तस्बिर प्रयोग गरेर उनीहरूले भारतीयहरूमा यस्तो सुन्दर नारा सहित ‘चलिए पोखरा’ नारा भारतमा बिक्री गरिरहेका छन् । गण्डकी प्रदेशको युरोप, अमेरिकनलगायतका तेस्रो मुलुक लक्षित अर्को नारा छ – ‘ग्लोरियस गण्डकी प्याराडाइज पोखरा’ अर्थात् गर्विलो गण्डकी र स्वर्गीय पोखरा ।

प्रदेश १ ले आफ्नो मौलिक पर्यटन नाराहरू बनाउन सक्छ । भारतीयलाई धार्मिक धामहरू बेच्ने हो भने त्यही अनुसारको नारा र तेस्रो मुलुकका पर्यटकहरूलाई प्रकृति, संस्कृति आदि के बेच्न सकिन्छ साझा धारणा बनाएर अर्को नारा बनाउन सकिन्छ ।

भारतीय राज्यका विभिन्न पर्यटन नाराहरूको सन्दर्भ केलाएर प्रदेश १ ले आफ्नै युनिक नारा दिन सक्छ । उदाहरणका लागि भारतीय राज्य सिक्किमको नारा ‘स्मल बट व्युटिफुल’ अर्थात् सानो तर सुन्दर रहेको छ । नागाल्याण्डको नारा ‘ल्याण्ड अफ फेस्टिभल्स’ अर्थात् चाडपर्वहरूको भूमि रहेको छ । यस्तै गरेर पश्चिम बंगालको नारा ‘व्युटिफुल बंगाल’ अर्थात् सुन्दर बंगाल छ भने गोआको नारा– ‘अ पर्फेक्ट होलिडे डेस्टिनेसन’ अर्थात् एक पूर्ण छुट्टि गन्तव्य । कर्नाटका राज्याको नारा सबैभन्दा पृथक छ – ‘वान स्टेट, मेनि वल्ड’ अर्थात् एक राज्य, अनेक दुनियाँ ।

प्रदेश १ ले पर्यटन विज्ञ, व्यवसायी, पेसाकर्मी देखि अभियान्ताहरूको साझा मञ्चमा बृहत् छलफल गरेर मौलिक पर्यटन नारा बनाउन सक्छ । सबैभन्दा सुन्दर पक्ष त देशभर प्रतिस्पर्धा गराएर प्रदेशको पर्यटन नारा बनाउन सकिन्छ । जसरी राष्ट्रगान, राष्ट्रिय चिन्हदेखि थुप्रै महŒवपूर्ण कुराहरू प्रतिस्पर्धाको माध्यमबाट हुन्छन् । ठिक त्यसैगरी प्रदेश १ को पर्यटन नारा पनि प्रतिस्पर्धाबाट गर्दा राम्रा राम्रा विकल्पहरू आउन सक्छन् ।