धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेजिडेन्ट (जेआर) हरूले व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) को नमूना निर्माण गरेका छन् ।

जुनियर रेजिडेन्टहरूले तयार पारेको नमूना पीपीइ स्वीकृतको अन्तिम चरणमा रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिए । ‘महावीर पुनको आविस्कार केन्द्रले पनि बनाउने स्वीकृति पाएको छ भन्ने थाहा पायौं, यहाँ पनि जुनियर रेजिडेन्टहरूले स्याम्पल पीपीइ तयार पारिसकेका छन्, लगभग स्वीकृत पनि भइसक्यो’–उनले फोन सम्पर्कमा भने ।

उनका अनुसार अब चाँडै नै नेपाली सेना, धरान उपमहानगरपालिकाको सहयोगमा तयार गरिने विषयमा छलफल चलिरहेको बताए । यो पीपीइ अन्तर्राष्ट्रिय स्तरको नभए पनि स्थानीय स्तरमा प्रयोग गर्न सकिने गरी निर्माण गरिएको जेआरमध्यका डा. कविराज पौडेलले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय स्तरको बनेको चाहिँ भन्दैनौं । आन्तरिक स्रोतसाधनबाट राम्रै बनेको छ’–उनले भने ।

उनका अनुसार जेआर र एनेस्थेसियाको डाक्टरहरूको टिम मिलेर पीपीइ बनाएका छौं । करिब एक सातादेखि पीपीइमा उनीहरूले समय खर्चेका थिए । आशङ्का लागेका बिरामीहरूलाई हेर्न सकिने गरी नमूना निर्माण भएको छ । ‘अब यसलाई लार्ज स्केलमै बनाउने हो कि भन्ने छ’ उनले भने । सरकारबाट पीपीइ मगाउँदा कहिले आइपुग्ने निश्चित नहुने भएकाले पनि स्थानीय स्रोतसाधन प्रयोग गरेर निर्माण गरिएको उनले बताए । ‘हाम्रो हिसाबमा राम्रो बनेको छ । गुणस्तरीयताको हिसाबका चाहि प्रुफ गर्न टेष्ट नै गर्नुपर्ने हुन्छ’–उनले भने ।

महावीर पुनको आविस्कार केन्द्रले पनि आजैबाट ४ सय थान पीपीइ बनाउन थालेको छ । आजै स्वीकृत भएपछि सिलाउन थालिएको हो ।