धरान । भारतको दिल्लीमा भएको एक धार्मिक सभामा १९ जना नेपाली पनि सहभागी भएको खुलेको छ ।

भारत सरकारले धार्मिक सभामा सहभागी हुने देशहरूलाई ‘ब्ल्याक लिष्ट’ मा राख्ने तयारी गरेको छ । नेपालसहित १६ देशका ३ सय मानिसहरू उक्त धार्मिक सभामा सहभागी बनेका थिए । निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा भएको धार्मिकसभामा थाइल्याण्ड, मलेसियासहित विभिन्न देशका नागरिकहरू सहभागी बनेका थिए ।

आठ हजारको संख्यामा सहभागी भएको धार्मिक सभा क्षेत्र नजिकै आइतबार एक जनामा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको थियो । भारत सरकारले गरेको लकडाउनलाई उल्लङ्घन गर्दै धार्मिक सभा गरिएको भारतीय मिडिया आउटलुकले उल्लेख गरेको छ ।

आउटलुकका अनुसार भारत सरकारले ती देशलाई भारतले ब्ल्याक लिष्टमा राख्ने तयारी गरेको हो । धार्मिक सभामा सहभागी भएमध्येका कयौंमा कोरोनाको लक्षण देखिएको थियो भने जसमध्ये ३० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो क्षेत्रबाट प्रहरीले २ सय ८१ जनालाई नियन्त्रणमा लिएको छ ।

धार्मिक सभामा नेपालसहित मलेसियाका २० जना, अफगानिस्तानका १ जना, म्यानमारबाट ३३ जना, अल्जेरियाबाट १ जना, जिबुतीबाट १ जना, किर्गिस्तानबाट २८ जना, इण्डोनेसियाबाट ७२ जना, थाइल्याण्डबाट ७ जना, श्रीलंकाबाट ३द्ध जना, बंगलादेशबाट १९ जना, बेलायतबाट तीन जना, सिंगापुरबाट १ जना, फिजीबाट ४ जना, फ्रान्स र कुवेतबाट एक–एक जना सहभागी बनेका थिए । ती देशका नागरिकहरू पर्यटक भिसामा भारत आएका थिए ।