विराटनगर । प्रतिबन्धित भारतीय नोटसहित एक जना व्यापारी पक्राउ परेका छन् । नेपालमा प्रतिबन्ध लागाएको पाँच सय दरका भारु १ लाख ३२ हजार ५ सय रुपैयाँसहित इटहरीमा फलफूलको व्यापार गर्ने व्यापारी विराटनगरबाट शुक्रबार पक्राउ परेका हुन् ।
धनुषा घर भइ इटहरी नगरपालिका १ मा डेरागरि बस्ने ४३ वर्षिय सन्तोष मेहतालाई सशस्त्र प्रहरीले प्रतिबन्धित नोटसहित विराटनगर – १६ हुलास मेटल चोकबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । पक्राउ परेका उनी इटहरी बजारमा ढेलामा फलफूलको विक्री वितरण गर्दै आएका छन् ।
उनले फलफूलको व्यापार गरेको दुई वर्ष भएको छ । दुई दिन अगाडी महतो चोरोबाटो हुदै लुकीछुपी भारत गएका थिए । चोरबाटबा नेपाल प्रवेश गरेपछि चेकजाँचको क्रममा प्रतिबन्धित नोट सहित महतोलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी विराटनगरले पक्राउ गरेको हो ।
झोला भित्र लुकाएर नेपाल ल्याएको भारतीय रुपैयाँ हुन्डी कारोबारको हुनसक्ने सशस्त्र प्रहरीले आशंका गरेको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गर्दै आएको छ ।

भारतीय पाँच सय नोट नेपालमा सरकारले प्रतिबन्धित लगाएको छ । बरामद भएको भारुतीय रूपैयाँको महतोले स्रोत पनि खुलाउन नसकेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले बरामद गरेको भारु ५ सयको २ सय ६५ पिस रहेकोछ । बरामद भएको रकम नेपाली दुई लाख १२ हजार रुपैयाँ हुन्छ ।
यता पक्राउ परेका महताले भारतमा बहनी रहेकोले सापटी दिएको पैसाँ लिएर आएको बताएका छन् । बरामद भारतीय रुपैयाँ र पक्राउ परेका महतोलाई आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी विराटनगरले जनाएको छ ।