सिरहा/ सिरहा नवराजपुर गाउँपालिका–५ की मुर्तीदेवी यादवलाई बोक्सीकाे आरोपमा कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँका २० वर्षीय सन्तोष यादवलाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
२०७७ भदौ २७ गते मुर्तीदेवी यादवलाई मध्यराती घरबाट बोलाई सोही ठाउँका धर्मनाथ यादवको घरमा लगेर बोक्सी भन्दै ८ जनाले सामूहिक कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट पश्चात फरार रहेका यादवलाई पीतिड महिलाको श्रीमान रामनारायण यादवको जाहेरीको आधारमा पक्राउ गरिएको (डिएसपी) पौडेलले बताए ।
यादवलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले नेपाल भारत सीमा क्षेत्र सिरहाको ठाडीबाट पक्राउ गरिएको (डिएसपी) शालिग्राम शर्मा पौडेललेले जानकारी दिए । कुटपिटबाट पीडित मुर्तीदेवी यादवको २ वटा दाँत भाँच्चिएको थियो ।
घटनामा संलग्न कृष्ण यादव, धर्मनाथ यादवलगायत आरोपीहरु फरार छन् । फरार आरोपीहरुको खोजीकार्य भइरहेको (डिएसपी) पौडेललेले जनाएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ ।