आजको पञ्चांग

आज ११ फेब्रुअरी २०२१ बिहीबार माघ महिनाको कृष्ण पक्ष अमावस्या तिथि । प्रमादि संवत्सर विक्रम संवत २०७७, शक संवत शर्वरी १९४२ पौष । आज अमावस्या तिथि १२ः३५ बिहान प्रातः उप्रान्त प्रतिपदा । नक्षत्र श्रवण ०२ः०५ मध्य सम्म उप्रान्त धनिष्ठा । वरीयान यो ०३ः३२ प्रातः सम्म, उप्रान्त परिघ योग । करण चुष्पद १२ः ४९ प्रातः सम्म, उप्रान्त नाग १२ः३५ प्रातः सम्म, उप्रान्त किस्तुघन । आज राहु कालको समय ०२ः०५ मध्य देखि ०३ः२९ अपरान्हसम्म । आज ०२ः१० प्रातः सम्म चन्द्रमा मकर राशिमा उप्रान्त कुम्म राशिमा संचार गर्ने छ ।  
*********


बिहीबार मुलुकबाट प्रकाशित विभिन्न छापा माध्यमहरुले प्रचण्ड– माधव नेपालको विरोध सभालाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । कान्तिपुर दैनिकले दाहाल–नेपालको तेस्रो शक्ति प्रदर्शन

प्रतिनिधिसभा पुनःस्थापना नभए विद्रोहको आँधीहुरी ल्याउने चेतावनी शीर्षकमा सामाचार प्रकाशित गरेको छ । प्रचण्ड– माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भनाइलाई प्राथमिकतामा राखेको छ । दाहालले कसलाई के भने ?  शीर्षकमा प्रचण्डले सर्वोच्च अदालत, निर्वाचन आयोग, कांग्रेस र जसपा, अन्तर्राष्ट्रिय समुदाय र प्रधानमन्त्री केपी ओलीप्रति लक्षित भनाइहरुलाई प्राथमिकता दिएको छ । सोही समाचारको विस्तृतमा पृष्ठ २ भरेको छ । दाहाल नेपालको तेस्रो शक्ति प्रदर्शन शीर्षकमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र रामकुमारी झाँक्रीका भनाइ र तस्बिर प्राथमिकताका साथ प्रकाशित गरेको छ । 

पहिलो पृष्ठमा कान्तिपुरले महिलालाई विदेश जान पालिकाको सिफारिस शीर्षकमा एक कोलममा समाचार राखेको छ भने अन्तिम पृष्ठको पुछारमा जो हिमनदीको बाढीमा परेर बाँचे शीर्षकको भारत नयाँ दिल्लीको समाचार प्रकाशित गरेको छ । कान्तिपुरले आजको सम्पादकीयमा सामाजिक संजालमा अंकुश आपत्तिजनक शीर्षकमा विचार प्रस्तुत गरेको छ । 
*******

अन्नपूर्ण पोष्ट दैनिकले अख्तियार  अझ सशक्त बनोस् शीर्षकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसमा राष्ट्रपति, प्रधानमन्त्री र अख्तियारका प्रमुख आयुक्तको भनाइलाई प्राथमिकताका साथ प्रकाशित गरेको  छ । अन्नपूर्णले बायाँ एक कोलममा ललिता निवास काण्डका ढकाललाई थुन्न आदेश शीर्षकमा बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिमा नामसारी गरेको घटनाका अभियुक्तलाई विशेष अदालतले थुनामा राख्न दिएको आदेशलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । 

त्यस्तै  अन्नपूर्णले दाहाल नेपालको शक्ति प्रदर्शन शीर्षकमा बुधबार काठमाडौंमा भएको प्रदर्शनको समाचार र तस्बिर छापेको छ । पहिलो पृष्ठको पुछारमा भने शौच गर्न जाँदा बलात्कृत शीर्षकमा जहदा मोरङको समाचार प्रकाशित गरेको छ । 

अन्नपूर्ण पोष्टले सम्पादकीयमा सामाजिक संजाल नियमन शीर्षकमा सरकारले सामाजिक संजाल नियमन गर्न ल्याउन लागिएको अध्यादेश ल्याउन नहुनेमा खबरदारी गरेको छ । 
*********

नयाँ पत्रिका दैनिकले जन निर्वाचित संसद् पुनस्र्थापनाको पक्षमा प्रदर्शन शीर्षकमा प्रचण्ड माधव समूहको विरोध सभालाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । विरोध सभामै रामकुमारी झाँक्रीले बोलेका कुरालाई दायाँ कोलममा  युवा नेता झन आक्रामक शीर्षकमा  समाचार प्रकाशित गरेको छ । नयाँ पत्रिकाले इजलासमा प्रधानमन्त्री ओलीका वकिलको धम्की अदालतले संसद पुनस्र्थापना गरे पनि प्रधानमन्त्रीले संसद् आह्वान गरेनन् भने के हुन्छ ? जब कि संसद् अधिवेशन प्रधानमन्त्रीको तजबिज होइन, संविधानको धारा ९३ ले प्रत्याभूत गरेको व्यवस्था हो शीर्षकमा समाचार प्रकाशित गरेको छ । 

यस्तै नयाँ पत्रिकाले पुछारमा उच्च पदस्थ व्यक्तिहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीको संख्याका विषयलाई लिएर ‘विशिष्ट व्यक्तिको सुरक्षामा नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहका निर्देशन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ६ सय सुरक्षाकर्मी फिर्ता हुने’ शीर्षकमा समाचार छापेको छ । 

नयाँ पत्रिकाले अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर शीर्षकमा सामाजिक संजालमाथि सरकारी नियमनका विषयलाई उठाएर विचार प्रस्तुत गरेको छ ।

***********

आजको नागरिक दैनिकले दाहाल–नेपाल सभाको तीन सन्देशः लोकतन्त्र, संविधान र स्वतन्त्रता रक्षा शीर्षकमा प्रचण्ड माधव समूहको विरोध सभाको समाचार प्रकाशित गरेको छ । यस्तै दायाँ कोलममा प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार छ शीर्षकमा संवैधानिक इजलासमा बुधबार भएको बहसबारे समाचार प्रकाशित गरेको छ । 

नागरिक दैनिकले भागरथी हत्याको सातौं दिन दोषी पहिचान नहुँदा दबाबमा प्रहरी शीर्षकमा बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यासम्बन्धी समाचार प्रकाशित गरेको छ । पुछारमा भने नागरिकले महिलालाई विदेश जान पालिकाको सिफारिस शीर्षकमा समाचार प्रकाशित गरेको छ । 

सम्पादकीयमा नागरिक दैनिकले अविछिन्न अभिव्यक्ति शीर्षकमा संचार तथा सूचना मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन मार्फत सामाजिक संजाल निर्देशिका २०७७ तयारी बारे दिएको जानकारीलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भन्दै त्यसलाई लागू नगर्न खबरदारी गरेको छ । मानहानी सम्बन्धी अन्य कानून हुँदाहुँदै निर्देशिका ल्याइनु खतरा हो र यसको दूरुपयोग हुने बारे सचेत गराएको छ ।
********* 

प्रदेश १ बाट प्रकाशित ब्लाष्ट दैनिकले आफ्नो अग्र पृष्ठमा सजाय बढे पनि घटेन बलात्कारको ग्राफ शीर्षकमा शौच गर्न गएकी बालिकालाई बलात्कार गरिएको घटनालाई प्रकाशित गरेको छ । यस्तै संसद पुनस्र्थापना नभए आँधीहुरी आउँछ शीर्षकमा काठमाडौंको समाचार प्रकाशित गरेको छ भने खानेतेलमा मनपरी मूल्य शीर्षकमा इटहरीको समाचार प्रकाशित गरेको छ । पुछारमा तरकारी कृषक निराश शीर्षकमा इनरुवाको समाचार प्रकाशित गरेको छ । ब्लाष्ट टाइम्स दैनिकले आफ्नो सम्पादकीयमा कमिसन अन्त्य गर्ने जिम्मेबारी कसको शीर्षकमा विचार राखेको छ । 

विशेष गरी आजका पत्रपत्रिका राजनीतिक विषयमा केन्द्रित छन् । प्रचण्ड माधव समूहको विरोध सभालाई  प्राथमिकताका साथ प्रकाशित गरेका छन् भने आफ्नो विचारमा  संचार तथा सूचना मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन मार्फत सामाजिक संजाल निर्देशिका २०७७ तयारी बारे दिएको जानकारीलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भन्दै सरकारलाई खबरदारी गरेका छन् ।