टिपरले ब्याक गरेर ठक्कर दिंदा साइकल यात्रुको मृत्यु भएको भन्दै आफन्त आन्दोलित भएका छन् । उनीहरुले कानूनी मात्र नभएर सामाजिक क्षतिपूर्तिको माग राख्दै आन्दोलन गरेका हुन् ।
चतरा कञ्चनपुर राजमार्गमा पर्ने बेलका नगरपालिका वडा नं. ५ स्थित घुम्नेमा बुधबार बेलुका ७ बजे ना ७ ख ६८९५ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेका साइकल यात्री वर्ष ४१ का खड्गबहादुर विकलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट घाइँते विकको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकका आफन्तले चालकले टिपरले कुल्चाएर मारेको आरोप लगाएका छन् ।
‘टिपरले ठक्कर दियो, ठक्कर खाएर लडेपछि ड्राइभर उत्रिएर आएर, हेरेर, फेरि गाडीमा चढेर कुल्चिएको देख्ने मान्छेहरुले भनेका छन्’ मृतक विककी आफन्त भूमिका रसाइलीले भनिन्, ‘पछि चालक उत्रिएर हेरेपछि पुनः कुल्चिनु भनेको ज्यान मार्ने उद्देश्य देखिन्छ ।’
इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक तेजबहादुुर दाहालले विकलाई घाइँते अवस्थामा विराट नर्सिङ होम पु¥याएको बताए । चिकित्सकलाई उद्धृत गर्दै दाहालले भने, ‘उपचारका क्रममा बिहीबार बिहान ९ बजे दुःखद खबर सुन्यौं, अस्पतालले मृत्यु भएको घोषणा गरेछ ।’
प्रहरी निरीक्षक दाहालका अनुसार लास चोटको प्रकृति हेर्दा ठक्कर दिएको देखिन्छ । टिपरको दाहिनेपट्टिको चक्कामा ठोकिएको देखिन्छ । ‘मृतकको प्राइभेट पार्टमा गम्भीर चोट लागेको छ ।’ प्रहरी निरीक्षक दाहालले भने ।
चालक र टिपर इलाका प्रहरी कार्यालय रामपुरको हिरासतमा छ । शुक्रबार र शनिबार छुट्टी परेकाले आइतबार चालकलाई म्याद थपका लागि लगिने र अनुसन्धान अगाडि बढाइने प्रहरी निरीक्षक दाहालले जानकारी दिए ।
‘आफन्तले उठाएका कुरा, स्थानीयवासी, लास चोटको प्रकृति र घटनास्थलको अनुसन्धानपछि निष्कर्षमा पुग्छौं,’ प्रहरी निरीक्षक दाहालले भने, ‘परिवारले शव बुझेर लानु भएको छ, अनुसन्धानका क्रमका बाँकी कुरा खुल्ने नै छ ।’
क्षतिपूर्तिको कागज
पीडित पक्ष र टिप्पर धनीबीच क्षतिपूर्ति दिने सहमति भएको छ । पीडितले काजक्रिया खर्चसहित १० लाख रुपैयाँ क्षतिपूर्ति मागे पनि आठ लाख रुपैयाँ बैंकमा हालिदिने सहमतिसहितको कागज भएको स्थानीय प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले बताए ।