प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई एमिकस क्युरीमा पुगेको छ । संसद विघटनसम्बन्धी मुद्दाका पक्ष र विपक्षको बहस सकिएपछि आज एमिकस क्युरी (अदालतको सहयोगी) को बहस हुँदैछ ।  

नेपाल बार र सर्वोच्च बार गरी दुईवटा बार एसोसिएसनबाट सिफारिस भएका पाँचजना वरिष्ठ अधिवक्ताको राय इजलासले सुन्नेछ । एमिकसले राय दिएपछि उक्त रिटमाथि फैसलाको चरणमा पुग्नेछ ।

निवेदकतर्फका वकिलहरूले हिजो सोमबार आफ्नो जवाफी बहस सकेपछि आजदेखि एमिकस क्युरीले आफ्ना कुरा राख्नेछन् । अदालतले आजै एमिकस क्युरीको बहस सकाउने तयारी गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा हिजो वरिष्ठ अधिवक्ता शम्भु थापा, शेरबहादुर केसी र रमण श्रेष्ठलगायत ११ जनाले यसअघि सरकार पक्षका वकिलहरूले प्रस्तुत गरेका तर्क र जिज्ञासाको जवाफ दिएका थिए ।

एमिकस क्युरीको बहस आज सकिए संवैधानिक इजलासले बहस नोट अध्ययन र आन्तरिक तयारीपछि फागुनको दोस्रो साताभित्रै फैसला दिने सम्भावना रहेको छ । 

प्रतिनिधिसभा विघटन गत पुष ५ गते भएको थियो ।  सरकारले निर्वाचनको मिति वैशाख १७ र २७ गते तोकेको छ ।