धरान । इटहरी उपमहानगरपालिकाले खनार बजारमा गरेको बजार अनगुमनको क्रममा म्याद गुज्रिएका सामग्री बिक्री गरेको पाइएको छ । 

अनुगमन टोलीले  म्याद गुज्रिएका सामग्री बिक्री गरेको पाइएपछि जफत गरेर नष्ट गरेको छ । खनार बजारका १४ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रिएका सामग्री बिक्री गरिरहेको पाइएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवलकिशोर भटटराईले जानकारी दिए । 

उनका अनुसार पाँचवटा पसलमा म्याद गुज्रिएका समान बेच्न राखेको भेटिएको थियो । तीन वर्षअघि म्याद गुज्रिसकेको समान बिक्रीका लागि राखेको पाइएको थियो  । चाउमिन मसला, मन्थन गोल्ड सुजी, मुसुरो दाल, ज्वाँनो, पवित्रा मकै चामल, पूर्णिमा गरम मसला, सेन्चुरी मसला, मिट मसला, गोल्ड सेवाई, बजाज अल्मोण्ड तेल, अमृत कफि चकलेट र विकेएस मसला म्याद गुज्रिएको पाइएको थियो । 

पाँचवटा पसलमा मूल्य सूची नराखेको पाइएको छ । चारवटा पसल व्यवसाय प्रमाण पत्रविनानै सञ्चालन भएको भेटिएको थियो । दुईवटा  पसलको नवीकरण नभएको पाइएको छ । अनुगमनका क्रममा व्यवसाय प्रमाण–पत्र लिन, पसल नवीकरण गर्न र लेवल गरेर मात्र समान बेच्न निर्देशन दिइएको छ । अर्कोपटक अनुगमनमा म्याद गुज्रिएका समान बेच्न राखेको पाइए कानुन वमोजिम कारबाही गरिने जनाइएको छ । 

इटहरी उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरीसहित अनुगमनमा सहभागी थिए ।