बिर्तामोड । भारतीय पक्षले नेपाल निर्यात गर्ने पेट्रोलमा कटौती गरेपछि पूर्वमा पेट्रोलको अभाव सुरु भएको छ ।
इण्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोले नेपालको पूर्वी जिल्लाहरूको मागअनुसार पेट्रोल नपठाइदिएपछि अहिले झापालगायत पूर्वी नेपालका पेट्रोल पम्पहरूले पेट्रोल वितरण गर्न पाएका छैनन् ।
भारतको सिलिगुडीबाट पूर्वका लागि झापाको चारआली डिपोमा पेट्रोल भण्डारण हुने गरेको थियो । भारतले माग बमोजिम पेट्रोल नदिँदा अहिले झापाका अधिकांश पम्पले पेट्रोल वितरण गर्न नसकेको जनाएका छन् ।
मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङ जिल्लाका लागि दैनिक साढे ७ सय किलोलिटर पेट्रोलको माग छ ।

तर, भारतको सिलिगुडी डिपोले शनिबार डेढसय किलोलिटर पेट्रोल मात्र नेपाल पठाएको नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्माले बताए ।
उनले भने, ‘भारतबाटै चाहिएजति पेट्रोल नेपाल आएको छैन । हाम्रो तर्फबाट भारतमा कुरा गर्ने काम भइरहेको छ ।’ दशैंको सुरुवातसँगै भारतले पेट्रोल कम पठाउन थालेको मेची पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ ।