बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा समेत भएको छ ।
पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्त गतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन प्रभाव रहने मौसमविद् मञ्जु बसीले बताए ।
काठमाडौँ उपत्यकामा बदली रहनुका साथै हल्का वर्षा समेत भइरहेको छ । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ । देशको पश्चिमी भेगमा भारी वर्षा भएको छ । महाशाखको पछिल्लो विवरणमा दिपायलमा १६६, डडेलधुरामा १५५, घोराहीमा १३३, भैरहवामा ११२, धनगढीमा ९० र पोखरामा ५६ मिलिमिटर वर्षा भएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रहनेछ । प्रदेश नम्बर १, प्रदेश नम्बर २ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
साथै, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही स्थान र प्रदेश नं २, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज काठमाडौँ अधिकतम तापक्रम २५ र न्यूनतम न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।
अविरल वर्षाले धानबालीमा क्षति
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् ।
दसैँ टीका लगाएर किसान धान काट्न सुरु गरेका थिए । “दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ”, दङ्गीशरण गाउँपालिका–३ का ३५ वर्षीय किसान खुशीराम चौधरीले भने । उनले थपे, “यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ, मलको अभाव पनि थिएन । धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो ।”
पानीले खेतबारीका धानसँगै तोरी अन्य बाली साथै तरकारीमा समेत क्षति पु¥याएको किसानले बताएका छन् । तुलसीपुर–६ का किसान नन्दु चौधरीले आफूहरूका मात्र नभई धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको बताए । उनले वर्षभरि खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेकोसमेत बताए ।
लगातारको कात्तिके झरीले जिल्लाको घोराही, लमही, भालुवाङ, पश्चिम दाङका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ । कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । त्यस्तै पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ देवीपुरमा काटेर गह्रामा सुकाएको धान अविरल वर्षाले बगाएर लगेको स्थानीय पत्रकार अञ्जना चौधरीले जानकारी दिइन् । उनले आफू पनि दसैँअघि नै धान काट्नका लागि गाउँमा गएको घरपरिवार तथा मजदूरी लगाएर चार दिनसम्म काटेर खेतमा राखेको धान अविरल वर्षापछि आएको बाढीले बगाएर लगेको बताइन् ।
जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पुर्याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार यस वर्ष जिल्लाको कूल ३९ हजार ६०० हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएको छ ।
ज्ञानकेन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णशङ्कर जातका धानको खेती गरेका छन् । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धानको खेती गरिएको बताइएको छ ।