पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरक्षेत्रमा दशैंको मौका पारेर बाटाभरि खुलेआम रूपमा पेट्रोलको कालोबजारी भएको पाइएको छ ।
पम्पहरूमा पेट्रोलको अभाव रहेको मौका छोपी १ सय २८ रुपैयाँ ९५ पैसा प्रतिलिटरको पेट्रोल आइतबार प्रतिलिटर ३ सय रुपैयाँसम्ममा बिक्री वितरण भइरहेको पाइएको हो । कालोबजारी गर्नेहरूलाई पथरीशनिश्चरेको अनुगमन टोलीले कारबाही नगरी छाडेको छ ।
वडानम्बर १ स्थित पथरी बजारको पूर्व बसस्टेण्डभन्दा पूर्व–उत्तरमा रहेको चौधरी होटल र बुद्धचोकको सैलुनअगाडि प्रतिलिटर ३ सय रुपैयाँसम्ममा पेट्रोल बिक्री गरेको जानकारी प्राप्त भएपछि पथरीशनिश्चरे नगरपालिकाले अनुगमन गरेको थियो । अनुगमनको क्रममा बढी मूल्यमा बिक्री गरेको पाइए पनि चेतावनी दिएर छाडेको छ ।
नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट बास्तोलाको नेतृत्वमा राजस्व शाखा प्रमुख ताराप्रसाद ढकाल तथा नगर प्रहरीको सहभागितामा अनुगमन गरिएको हो । प्लाष्टिकको बोतलमा खुला रूपमा राखेर बिक्री वितरण भएको पेट्रोलको मूल्य छड्के जाँच गर्दा सोमबार पनि प्रतिलिटर १ सय ५० रुपैयाँमा बेच्ने गरेको पाइएपछि बढी मूल्य लिएर बिक्री वितरण नगर्न चेतावनी दिएर छाडेको छ ।

कानून विपरीत खुला रूपमा पेट्रोल बिक्री वितरण नगर्नसमेत चेतावनी दिइएको नगर उपप्रमुख बास्तोलाले बताइन् । पेट्रोल प्रतिलिटर १ सय ५० रुपैयाँमा बेच्दै गरेको र अनुगमन टोली पुगेपछि १ सय ४० रुपैयाँमा बेचेको भनेर पसलेले ढाँटेका थिए । त्यस अवस्थामा पेट्रोलका ग्राहकलाई प्रतिलिटर १० रुपैयाँ रकम अनुगमन् टोलीले फिर्तासमेत गराएको छ ।
चिसो पेयपदार्थ कोकसहितमा पनि केही पसलहरूमा कालोबजारी भएको पाइएको छ । आइतबार साँझ पम्पहरूमा पेट्रोल उपलब्ध भएपछि खुला बोतलमा बिक्री गर्नेहरूले सोमबार मूल्य केही घटाएका हुन् ।
पथरीशनिश्चरे नगर क्षेत्रमा पेट्रोल पम्प नभएका कारणले पनि बढी मूल्य तिरेर मोटरसाइकल सहितका यातायातका साधनमा पेट्रोल भर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।
सरकारले दशैंको समयमा पेट्रोलको आयात व्यवस्थापन मिलाउन नसक्दा एकातिर पेट्रोलको अभाव देखिने र अर्कातिर कालोबजारीले प्रश्रय पाउने गरेको पथरी उद्योग वाणिज्य सङ्घका पूर्व महासचिव अशोक साम्पाङको धारणा छ ।