धनकुटा । धनकुटाको हिले हुँदै त्रिवेणीसम्म पुग्ने सडक शिलान्यास भएको छ ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार शिलान्यास गरे । हिलेदेखि त्रिवेणीघाटसम्मको २९ किलोमिटर सडकमध्ये पहिलोचरणमा १० किलोमिटर सडक कालोपत्रे हुँदै छ । सडक कालोपत्रे भएमा सुन्तला गाउँ खोकु तथा छिन्ताङ पुग्न सहज हुने छ । प्रादेशिक विशेष सडक निर्माण आयोजना कार्यालय विराटनगरले सडक निर्माण गरिरहेको छ ।
२९ करोड ७२ लाख ९८ हजार त्रिसठ्ठी रुपैयाँको लागतमा हिलेदेखि सहिदभूमी गाउँपालिकाको थलथले बजारसम्म कालपत्रे हुने जनाइएको छ । डेढ वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी गत असोज ६ गते सम्झौता भएको छ ।
मुख्यमन्त्री आचार्यले ऐतिहासिक धार्मिक, पर्यटकीय स्थल र सुन्तलाको राजधानीलाई जोड्नका लागि सडक निर्माण गरिन लागिएको बताए । उनले धनकुटा जिल्लाको खोकु छिन्ताङ भनेको सहिदहरूको भूमी भएकाले पनि उच्चसम्मानका साथ प्रदेश सरकारले प्राथमिकतामा राखेर सडक निर्माण गरिरहेको बताए । धनकुटा जिल्लालाई उन्नत जिल्लाका रूपमा विकास गर्न विशेष गरेर पर्यटन, कृषि, प्रादेशिक शिक्षालय, जडीवुटी, चिया र फलफूल उत्पादनमा प्रदेश सरकारले योजना बनाएको उनको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले धनकुटाको जनतालाई खुसी र सुखी राख्नका लागि आफूहरू काम गरिरहेको बताए । उनले एमालेको सरकारले धनकुटा जिल्लाको विकासका लागि १० खर्ब रुपैयाँ बजेट विनियोजन गरेमा अहिलेको गठबन्धन सरकारले ७ खर्ब रुपैयाँ कटौति गरेको आरोप लगाए । त्यस्तै प्रदेश सांसद इन्द्रमणि पराजुलीले ऐतिहासिक पर्वतीय शृङ्खलाहरू जोड्ने धामिर्क तथा पर्यटकीय सडकको शिलान्यास भएको दाबी गरे । उनले धनकुटाको समृद्धिका लागि कोशेढुङ्गा सावित हुने दाबी गरे ।
धनकुटा नगरका प्रमुख चिन्तन तामाङले सहिदभूमी गाउँपालिकावासीहरूको सुख र समृद्धिमा सडकले टेवा पु¥याउने बताए । उनले धनकुटाको हिले बजारमा भइरहेको कालेपत्रे सडक निर्माणमा निर्माण कम्पनी गैरजिम्मेवार भइरहेको बताए । सम्झौता भएको २ वर्षमा काम सक्नु पर्नेमा ३ वर्ष बित्दा पनि काम सम्पन्न नभएकोमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।
सडक निर्माण आयोजनाबारे प्रादेशिक विशेष सडक निर्माण आयोजना कार्यालय विराटनगरका प्रमुख दीपनारायण साहले प्रकाश पारेका थिए । यसैबीच मुख्यमन्त्री आचार्यले धनकुटामा रहेको मुख्यमन्त्रीको सम्पर्क कार्यालयको पनि निरीक्षण गरेका थिए ।