अविरल वर्षाका कारण झापामा २० प्रतिशत धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । क्षति भएका मध्ये पनि ज्ञान केन्द्रले अधिकांशलाई आंशिक क्षति भएको पाइएको जनाएको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार बालुवा वा माटोले पुरिएको बाहेकलाई पूर्ण क्षति भएको भन्न नमिल्ने अवस्था हुन्छ । त्यसको विवरण सङ्कलन गर्ने कार्य भइरहेको सिंहले जानकारी दिए ।

ज्ञान केन्द्रले अहिलेसम्म ५ वटा स्थानीय तहको क्षतिको विवरण सङ्कलन गरिसकेको उनले बताए । आगामी तीन दिनमा अविरल वर्षाका कारण भएको क्षतिको सम्पूर्ण विवरण तयार गर्ने योजना रहेको उनको भनाई छ ।

जनतासँग नजिकिने उद्देश्यले जनप्रतिनिधिले हुँदै नभएको क्षतिको विवरण सङ्कलन गर्ने गरेको सिंहको भनाई छ । ‘बोट लडेको धानमा पनि ७० प्रतिशत उत्पादन हुन्छ, उहाँहरू त्यसलाई १ सय प्रतिशत मानेर विवरण सङ्कलन गर्दै हुनुहुन्छ, सिंहले भने–‘उहाँहरूको कामले गर्दा अलि समस्या उत्पन्न हुन्छ, तर हामी आफ्नो काम तोकेको समयमा पुरा गर्छौँ ।’

झापामा यो वर्ष ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेति लगाइएको थियो । त्यसमा २० प्रतिशतभन्दा कम क्षेत्रफलमा क्षति पुगेको बताइएको छ । पूर्णरुपमा क्षति भएको भने १० प्रतिशतभन्दा कम हुने ज्ञान केन्द्रको अनुमान छ ।