पथरीशनिश्चरे । चिस्यान केन्द्रको असावधानीले मोरङको पथरी शनिश्चरे १ मा अवस्थित पथरी कृषि सहकारी संस्थाले राखेको ३ हजार ३ सय किलो आलुको बिउ कुहिएर नष्ट भएको छ ।
संस्थामा आवद्ध कृषकहरुबाट उत्पादन गरी सहकारीमार्फत झापाको दमकस्थित शान्ति कोल्ड सेन्टरमा भण्डारण गरि राखिएको थियो । तर कृषकले आलु रोप्ने समय हुन लागेपछि बिउ फिर्ता ल्याउन खोज्दा राखिएको सबै ६६ बोरा आलु कुहिएको पाइएको सहकारीका अध्यक्ष हरिराज प्याकुरेलले जनाए ।
नियमित चिसोपना गराउने मेसिनमा आएको समस्याका कारण आलु कुहिन पुगेको चिस्यान केन्द्रले जनाएको उनले बताए । प्रति गोटा २० रुपैयाँ दरले किनेर पीवीएस आलुबाट उत्पादित मुल बिउ कुहिदा ३ लाख ३० हजार बढी रुपैयाँको क्षति भएर रोप्ने बिउको अभावमा कृषकहरुमा समस्या आएको भन्दै उनले चिन्ता व्यक्त गरे । हाल १ सय रुपैयाँ प्रति केजी पर्ने आलुको चिस्यान केन्द्रले प्रति केजी ५० का दरले मात्र बिमा गराएको बताए ।
बुधबार पथरी शनिश्चरे नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाको अगुवाईमा आलुको अनुगमन् गरी उचित क्षतिपूति सहित विमाको लागि पहल गरिने भएको छ । आलुको बिउको श्रोत केन्द्र बन्दै गरेको पथरी शनिश्चरेका ओमनाथ नेपाल सहितका कृषकहरुको समेत सो चिस्यान केन्द्रमा बिउ आलु कुहिएर नष्ट भएको छ ।
