मोरङ । सौर्य एयरलाइन्सले विराटनगर–भैरहवा–विराटनगर सिधा उडान गर्ने भएको छ ।
कात्तिक २२ गतेदेखि एयरलाइन्सको बक्वारडियर कम्पनीको सिआरजे २०० विमानले उडान भर्ने अध्यक्ष दीपक पोखरेलले जानकारी दिए । दैनिक एउटा उडान भर्ने तयारी गरिएको छ । आवश्यकताअनुसार उडान थप गरिने उनले जानकारी दिए ।
एकातर्फको भाडादर ६ हजार रुपैयाँ तोकिएको छ । सौर्यले नेपालमै पहिलोपटक विराटनगर भैरहवाको उडान भर्न लागेको हो । बुद्धको जन्मस्थल भएकाले धार्मिक पर्यटकहरूका लागि सहज हुने कम्पनीले विश्वास लिएको छ । स्थलमार्गबाट विराटनगरदेखि भैरहवासम्म ४९६ किलोमिटर रहेको छ । बसमार्फत जाँदा करिब १५ घण्टा लाग्छ ।
विमानमा भने ५३ मिनेटमै पुग्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको अन्य क्षेत्रमा दर्जनभन्दा बढी उडान रहेका छन् ।