विजयपुर । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सरकारको चौतर्फी विरोध भएको छ ।

बिहीबार विभिन्न राजनीतिक दलका भातृ सङ्गठनहरूले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय सङ्गठनले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

त्यस्तै एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको छ । अनेरास्ववियूले त्रिचन्द्र कलेजमा दिउँसो मसालजुलुससहित प्रदर्शन गरेका थिए ।

उनीहरूले सबैखाले मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गरे । त्रिचन्द्र कलेज परिसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत दहन गरेका थिए । साथै, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले पनि विरोध गर्दै मसाल जुलुस गरेको छ ।

क्रान्तिकारीले ललितपुरमा मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मसाल जुलुस निकालेको हो । मङ्गलबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

पेट्रोल, डिजेल, मट्टितेल, आन्तरिक हवाई इन्धन र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यवृद्धि गरेको हो । नेपाल आयल निगमका अनुसार साबिकको मूल्यमा पेट्रोल र डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ ।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य डलर १ हजार ९५ कायम गरेको छ । यसबीचमा विद्यार्थी सङ्गठनहरूले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पनि विरोध गरेका छन् ।