भद्रपुर । मेचीनगर १४ दुवागढीस्थित मनषा थाइफुड्स (मगमग चाउचाउ उद्योग) मा लागेको आगो १० घन्टा पछि नियन्त्रणमा आएको छ ।

झापा , मोरङ, इलाम र सुनसरीका १५ वटा दमकल ,जनपद प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना , स्थानीयलगायतको प्रयासमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । धेरैजनाको प्रयासबाट पूर्णरुपमा क्षति हुनबाट जोगाइएको प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

आगो फैलनबाट जोगाइएको छ भने भित्रपट्टीको आगो भने निभाउने क्रम जारी रहेको उनको भनाइ छ । एउटा पक्की घर , तीनवटा तेल ट्याङ्की, पछाडिपट्टी रहेको सामानलगायतका धनमाल जोगाउन सफल भएको उनले जानकारी दिए । तेलको ट्याङ्कीमा सल्केको भए धेरै क्षति हुन सक्थ्यो उनले भने । 

आगलागीबाट महँङ्गो मेशिनसहित करोडौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको उनले जनाए । 

चार वर्षअघि एक अर्बको लगानीमा स्व. परशुराम अग्रवाल, ओमप्रकाश अग्रवाल, बुद्धि घिमिरे, गणेश प्याकुरेल र अजय अग्रवालले संयुक्त लगानी गरेका थिए । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीमा केही पनि माल बस्तु जोगाउन नसकिएको र करोडौँ क्षति भएको जानकारी दिएका छन् । उद्योगमा शनिवार बिहान साढे ४ बजे लागेको आगलागीको कारण अझै खुल्न नसकेको र क्षतिको विवरण आई नसकेको उनले बताए ।

 ९ दिनअघि काँकडभिट्टाको एसएस फुटवेयरमा पनि आगलागी भएको थियो । त्यस आगलागीमा साढे ९ करोडको क्षति भएको सञ्चालकले बताएका छन् ।