सत्ता गठबन्धनमा संलग्न नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपा (समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको छ ।

सो प्रस्तावमा आज सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकामा राजनीतिक दलमा सहमति नभएको र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सदनमा अवरोध जारी राखेको अवस्थामा यसलाई अघि नबढाउन ती दुबै दलले आग्रह गरेको हो ।

सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले भने नियमितरुपमा छलफलको प्रक्रिया अघि बढाउन अडान लिएको छ । विवादका कारण दिउँसो १ बजेका लागि तोकिएको बैठक १ः५० बजेसम्म सुरु हुन सकेको छैन । एमालेले आफ्ना माग पूरा नभएको जनाउँदै कार्यव्यवस्थाको बैठक बहिष्कार गर्दै आएको छ । 

सो छलफललाई अघि बढाउने वा नबढाउने भन्नेबारेमा माओवादी केन्द्रले पार्टीभित्र छलफल गर्ने जनाइएको छ । एमालेका नेता डा भीमबहादुर रावलले आजको बैठक बस्ने सम्भावना नरहेको बताए। उनले सडकमा विरोधकाबीच सो प्रस्तावलाई अघि बढाउन र सत्ताका लागि राष्ट्रियताका सवालमा सम्झौता गर्न नहुने बताए । 

  सो सम्झौता यही फागुन ८ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो । सो सम्झौतालाई यही फागुन १६ गतेभित्र अनुमोदन हुने–नहुने निधो गर्न अमेरिका सरकारले समयसीमा दिएको छ ।