विराटनगर । विराटनगरमा जारी नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगितामा प्रिमियर–११ फाइनलमा पुगेको छ । नेपाल अग्रवाल युवा मञ्च विराटनगरको आयोजनामा भएको उक्त प्रतियोगितामा प्रिमियर–११ उपाधि नजिक पुगेको हो ।

बिहीबार भएको खेलमा सिएसबी–११ लाई प्रिमियर–११ ले १ सय ३० रनको फराकिलो रन अन्तरले पराजित गरी लगातार तीन खेलमा जित हात पार्दै उपाधि नजिक पुगेको छ । त्यस्तै सोही दिन सम्पन्न खेलमा हुलास–११ र म्याजिक स्ट्राइकर्स विजयी भएका छन् ।

पहिलो खेलमा प्रिमियर–११ ले सिएसबी–११ लाई १ सय ३० रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको प्रिमियरले निर्धारित १० ओभरमा ४ विकेट गुमाई १ सय ८६ रनको विशाल स्कोर खडा गरेको थियो ।

जसमा म्यान अफ दी म्याच कपिल बाहेतीले २१ बलमा ८ छक्का र ६ चौका प्रहार गरी ८६ रन बनाउँदा ऋषि महेश्वरीले १२ बलमा ५१ रनको योगदान दिए । सिएसबीका अजय सोनी र जयस सोनीले १–१ विकेट लिए ।

दोस्रो खेलमा हुलास–११ ले पर्शुराम वारियर्सलाई ५ विकेटले पाराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पर्शुरामले निर्धारित १० ओभरमा ४ विकेट गुमाई ९० रन बनायो । जसमा केशव शर्माले अविजित ३८ रन बनाउँदा निखिल शर्माले १५ रनको योगदान दिए । हुलासका गौरव लालवानीले २ विकेट लिए ।

तेस्रो खेलमा म्याजिक स्ट्राइकर्सले सिएसबी–११ लाई ९० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको म्याजिकले निर्धारित १० ओभरमा ३ विकेट गुमाई १ सय ५० रनको विशाल स्कोर खडा गरेको छ । जसमा म्यान अफ दी म्याच अनिष अग्रवालले अविजित ५४ रन जोड्दा रोहित अग्रवालले ६० रनको योगदान दिए । सिएसबीका राहुल सोनीले सर्वाधिक २ विकेट लिए ।

आज (शुक्रबार) को पहिलो खेल प्रिमियर–११ र पर्शुराम वारियर्सबीच,  दोस्रो खेल हुलास–११ र सिएसबी–११ बीच तथा तेस्रो खेल सिएसबी–११ र म्याजिक स्ट्राइकर्सबीच हुने खेल संयोजक हेमन्त अग्रवालले जानकारी दिए ।

crc