धरान । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ राख्दा उपयुक्त हुने बताएका छन् ।शनिबार प्रेस चौतारी नेपाल प्रदेश १ द्वारा बिर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओलीले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने बताएका हुन् ।
‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजाति त पछि आएका हुन्’ उनले भने, ‘जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामकरण कोसी गर्दा हुन्छ ।’
उनले अर्को प्रसङ्गमा नेपाली काङ्ग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गरे । वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेख गर्दै अध्यक्ष ओलीले लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको काङ्ग्रेसले दक्षिणपन्थीको बैसाखी टेक्नु दुःखद् भएको आरोप लगाए ।
प्रेस चौतारीको अधिवेशन उद्घाटन गर्नुअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अर्जुनधारा नगरपालिकास्थित सालबाडीमा रहेका पाँच सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठको सालिकमा माल्यार्पणसमेत गरेका थिए ।

तटबन्धको शिलान्यास
झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यसमेत रहेका ओलीले कमल गाउँपालिका–६ खयरबारीस्थित रतुवा नदीका १९ ठाउँमा निर्माण हुने तटबन्धको एकैसाथ शिलान्यास गरेका छन् । उनले विकास र समृद्धिको लक्ष्यमा पुर्याउन एमाले दृढ सङ्कल्पित भएको बताए ।
रतुवा नदीबाट बर्सेनि ठूलो जनधनको क्षति व्यहोरेका कमलवासीलाई अब बाढी, कटानको चिन्ता कहिल्यै नआउने भन्दै उनले भने, ‘रतुवा नदीमा व्यवस्थित तटबन्ध गर्ने काम सुरु भएको छ, यो समयमै सम्पन्न हुनेछ ।’
करिब १२ किलोमिटर लामो निर्माण हुने उक्त तटबन्ध कार्यको शिलान्यासका क्रममा उनले नदी तटबन्ध, सडक, पुलपुलेसा, स्कुलजस्ता अनेकौँ विकासका क्षेत्रमा आफ्नो सरकारले प्रशस्तै काम गरेको दाबी गरे । रतुवा र मावा नदीमा पुल नहुँदा आफू कयौँपटक पौडी खेलेर तरेको स्मरण गर्दै उनले अहिले पुल निर्माण भए पनि नदीमा तटबन्ध नहुँदा समस्या हुँदै आएको र अब त्यस्तो समस्या नआउने बताए ।