भद्रपुर । खेलाडी उत्पादन गर्ने उद्देश्यले झापामा धनुकाँण खेलको प्रशिक्षण शुरू भएको छ । नेपाल आर्चरी सङ्घका राष्ट्रिय अध्यक्ष दिपकराज गुरूङको पहलमा झापा आर्चरी सङ्घले खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ तीन दिने प्रशिक्षण शुरु गरेको हो ।
पौराणिक कालदेखि खेलिदै आएको यस खेलको सङ्गठन निर्माण भए पनि झापामा खेलाडी उत्पादनका लागि आवश्यक पूर्वाधार नहुँदा खेलाडी उत्पादन गर्न सकिएको थिएन । झापा आर्चरी सङ्घका अध्यक्ष कविन राईले २०७२ सालमै झापामा संस्था गठन भए पनि कोभिड–१९ का कारण आर्चरी सङ्घले कुनै गतिविधि गर्न सकेको थिएन तर अव तालिम दिलाएर भए पनि झापाबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको बताए ।
नेपाल आर्चरी सङ्घका राष्ट्रिय अध्यक्ष गुरूङले झापामा आर्चरी खेलको विकास र विस्तार गर्ने उद्देश्यले व्यक्तिगत रुपमा तीन सेट धनुकाँण उपलब्ध गराएका छन् । एक सेटमा छ वटा काँण(तीर)र धनु हुन्छ ।
झापा भद्रपुर – ७ का उनी आर्चरीको अन्तर्राष्ट्रिय ज्युरी मेम्वर समेत छन् । नेपालमा वि.सं.२०४४ सालमा सङ्घ दर्ता भए पनि २०६२ सालबाट मात्रै व्यवस्थित र औपचारिक ढङ्गले खेलको शुरूवात भएको अध्यक्ष गुरुङले बताए ।

नेपालका १७ जिल्लामा यो खेलको सङ्गठन विस्तार भए पनि खेलाडीहरू सन्तोषजनक रूपमा उत्पादन गर्न नसकिएको उनले स्वीकारे प्रदेश – ४ को पोखरामा हुन गइरहेको नवौ राष्ट्रिय खेलमा झापाले कम्तीमा ८ जना खेलाडी छनौट हुने गरी तयारी गर्न पनि उनले निर्देशन दिए ।
भद्रपुर ८ नं वडा अध्यक्ष गौरव सुव्वा मनोजको प्रमुख आतिथ्यमा मेची रङ्गशाला भद्रपुरमा शुक्रबार भएको उद्घाटन कार्यक्रममा झापा आर्चरी सङ्घका सचिव दीप पौडेलले सहजीकरण गरेका थिए । अध्यक्ष राईको सभापतित्वमा भएको कार्यक्रममा संघका उपाध्यक्ष शमशेर तामाङले स्वागत मन्तव्य राखेका थिए ।
राष्ट्रिय अध्यक्ष गुरुङले खेलको वारेमा जानकारी गराएका थिए । चैत्र १३ गतेसम्म सञ्चालन हुने तालिममा २० जना प्रशिक्षार्थी रहेको जनाइएको छ । राष्ट्रिय प्रशिक्षकहरूले तालिममा प्रशिक्षण दिदैछन् ।