विजयपुर । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बान्द्रेटोलबाट प्रहरीले एक नाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय मंगल सिंह राई रहेका छन्।nजिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राईको घरमा हातहतियार लुकाएर राखिएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट संयुक्त प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले राईको घरकोठामा कानुनबमोजिम खानतलासी गर्दा भान्सा कोठाको सिलिङमा लुकाएर राखिएको अवस्थामा एक थान एक नाले भरुवा बन्दुक फेला पारेको हो।
बन्दुक बरामद गरी राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

































