सुनसरी । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गएसँगै मुख्य दलका आकाङ्क्षीले टिकट पाउन लविङ गरिरहेका छन् । सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका मेयरमा नेपाली काङ्ग्रेसतर्फबाट यसपटक सुनसरीका सभापति केदार भण्डारी, वर्तमान मेयर राजन मेहता, रञ्जेश भट्टराई र सञ्जय श्रेष्ठले दाबी गरिरहेका छन् ।
उनीहरूमध्ये वर्तमान नगर प्रमुख मेहता र जिल्ला सभापति भण्डारीमध्ये एकले टिकट पाउने बलियो सम्भावना छ । यसैगरी नेकपा (एमाले)को तर्फबाट खेमराज पोखरेल, पोष्टकुमार नेपाल र हालसालै एमालेमा प्रवेश गरेका मनोजकुमार मेहता मुख्य दाबेदार देखिएका छन् ।
तीमध्ये काङ्ग्रेसबाट राजन मेहताले टिकट नपाएको अवस्थामा एमालेबाट मनोज मेहतालाई इनरुवा नगर प्रमुखको उम्मेदवार बनाउने तयारी भइरहेकोे बुझिएको छ । त्यस्तै माओवादी केन्द्रबाट इनरुवामा ओके दाहाल, रमेश भट्टराई, तोया गिरीले दाबी गरिरहेका छन् ।
कोसी गाउँपालिकामा अध्यक्ष पदमा ऐयुब अन्सारी र हरिनगर गाउँपालिकामा गफार अन्सारी काङ्ग्रेसको तर्फबाट पुनः उम्मेदवार बन्न लागिपरेका छन् भने देवानगञ्ज गाउँपालिकामा लालीप्रसाद मेहता, बर्जुमा रघुनन्द चौधरी, गढीमा श्रीप्रसाद यादव र भोक्राहा नरसिंहमा महेन्द्रप्रसाद यादव फेरि उम्मेदवारी दिने तयारीमा लागेका छन् ।

कोसीमा एमालेका तर्फबाट अजय कुशियैत, जितेन्द्र खेरवार, सङ्घीय समाजवादी पार्टीका गोवर्धन यादव, माओवादी केन्द्रका मण्टु यादव र पञ्चनारायण मण्डलले उम्मेदवारी दिने तयारी गरिरहेका छन् भने हरिनगरमा एमालेका तर्फबाट लस्करी अन्सारी, अकरम अली, सङ्घीय समाजवादीका धर्मवीर आर्य, आफ्ताब आलमलगायत उम्मेदवार बन्ने तयारीमा छन् ।
भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष पदमा महेन्द्रप्रसाद यादवले एमालेबाट टिकट लिएर दोहो¥याउने दाउमा छन् भने उनलाई काङ्ग्रेसबाट हाजी डाक्टर इसराइल मन्सुरी, अजमल आजाद, शत्रुघनप्रसाद यादव, हारुन अन्सारीमध्ये एक जनाले चुनौती दिने तयारीमा छन् ।
नेपाली काङ्ग्रेसले वडास्तरदेखि अन्य आवश्यक सबै समिति गठन गर्दै स्थानीय तहको निर्वाचन जित्ने तयारीमा लागेको जिल्ला सभापति केदार भण्डारीले बताए । भर्खरै भएको अधिवेशनमा निराश भएकाहरूलाई समेत साथमा लिएर आफू अगाडि बढेको बताउँदै उनले काङ्ग्रेसमा रहेर सङ्घर्ष गरेका र स्थानीयले पत्याएका व्यक्तिलाई मात्रै टिकट दिने गरी गृहकार्य भइरहेकोे बताए ।
जिल्लाका सबै स्थानीय निकायमा आफ्नो बलियो पकड बनाउने हिसाबले साङ्गठनिक अभियान सञ्चालन गरेको १ नम्बर प्रदेश सांसद् एवम् नेकपा (एमाले)का केन्द्रीय सदस्य जगदीशप्रसाद कुशियैत बताउँछन् । विपन्न, दलित, उत्पीडित र पिछडिएको समुदायको वकालत गर्ने पार्टी नेकपा (एमाले) भएको दाबी गर्दै उनले अवस्था र परिस्थितिको मागअनुसार उम्मेदवार छनोट गरिने बताए ।
यता माओवादी केन्द्र सुनसरीका अध्यक्ष योगेन्द्र (पप्पु) मण्डलले जिल्लाका प्रत्येक स्थानीय तह निर्वाचनमा पार्टीमा योगदान दिएका र जनताको समस्या बुझेका व्यक्तिलाई प्राथमिकताका आधारमा टिकट वितरण गरिने बताए ।