इनरुवा । नेकपा एमाले सुनसरीले चुनाव केन्द्रित वृहत आमसभा गर्ने भएको छ ।
चैत्र ३० गते इनरुवामा आयोजना गर्न लागिएको सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुनसरीले जनाएको छ । एमाले जिल्ला प्रचार विभागले आज पार्टी कार्यालय इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी आमसभाको विषयमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले चैत्र ३० गतेको पार्टी अध्यक्ष ओलीको उपस्थिति र सम्बोधनले सुनसरी एमालेमय बन्ने बताए । भण्डारीले आमसभामा एमाले छाडेर गएका मात्रै नभई अन्य पार्टीबाट समेत ठूलो संख्याका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले सुनसरीमा अन्य दलको गठबन्धनले एमालेलाई कुनै असर नगर्ने समेत बताए । उनले एमाले सबै दलसँग एक्लै भिड्न सक्षम पार्टी भएकाले बैशाख ३० हुने स्थानीय तहको निर्वाचनबाट माओवादी र नेकपा एकीकृत समाजवादी बढारिने दाबी गरे ।

पत्रकार सम्मेलनमा प्रचार बिभाग प्रमुख राम कोइरालाले आमसभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । आमसभामा ठूलो भिड जम्मा हुने भएकाले व्यवस्थापन लगायत कार्यक्रम आयोजनाको तयारीलाई तिव्रता दिइएको कोइरालाले बताए ।