धरान । २१ हेन्डीक्याप गल्फर प्रकृत तामाङले रामकुमार राई स्मृति रनिङ कप एमेच्योर गल्फ टुर्नामेन्ट–२०७९ को उपाधि जितेका छन् ।
पार ७० को धरान गल्फ कोर्षमा उनले ५ अण्डर ६५ खेल्दै च्याम्पियन बनेका हुन् । उनले फ्रन्ट नाइनमा ४४ खेल्दा ब्याक नाइनमा ४२ खेलेका थिए । त्यस्तै गजेन्द्र लिम्बू २ अण्डर ६८ खेल्दै फस्ट रनरअप भएका छन् । उनले फ्रन्ट नाइनमा ३९ र ब्याक नाइनमा ३६ खेलेका थिए । उनी ७ हेन्डीक्याप गल्फर हुन् ।
त्यस्तै एक अण्डर ६९ खेल्दै भरत तामाङ सेकेन्ड रनरअप बनेका छन् । उनी १२ हेन्डीक्याप खेलाडी हुन् । उनले फ्रन्ट नाइनमा ४१ खेल्दा ब्याक नाइनमा ४० खेलेका थिए ।
बेस्ट ग्रसतर्फ सुन्दर राईले पुरस्कार जिते । उनले लेभल पार खेलेका थिए । १८ होलको कोर्षमा नियरेस्ट टु दी पिनमा बुद्धिमान सुनुवार र लङ्गेस्ट ड्राइभमा विनोद साहले पुरस्कार जितेका छन् । तेस्रो र बाह्रौँ होलमा बर्डिज गर्न सफल किरण सुब्बाले मोस्ट बर्डिजको उपाधि जिते ।
यता भेट्रानतर्फ २ ओभर ७२ खेल्दै बम लिम्बूले पुरस्कार जितेका छन् । उनी ८ हेन्डीक्याप गल्फर हुन् । स्टेबल फोर्डका आधारमा खेलाइएको प्रतियोगितामा कुल २३ जना स्थानीय एमेच्योर गल्फरहरूबीच प्रतिस्पर्धा भएको थियो ।
कमला लिम्बू, मनिला लिम्बू र सुशीला लिम्बूको प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको आयोजक धरान गल्फ क्लबले जनाएको छ । क्लबले विभिन्न व्यक्तिको प्रायोजनमा प्रतियोगिता गराउँदै आएको छ । धरानको गल्फ कोर्ष सन् १९६२ मा ब्रिटिसका पालामा निर्माण गरिएको हो ।