भद्रपुर । झापाको एउटा नगरपालिकाका बासिन्दाले दशकौंदेखि ट्युबेलको पानी प्रयोग गर्दै आइरहेका छन् । कनकाई–१ प्रजातिमा खानेपानीका लागि परियोजना सञ्चालनमा रहे पनि खानेपानी वितरण नहुँदा उनीहरू शुद्ध खानेपानीबाट बञ्चित भएका हुन् ।

जमिनमुनिको पानी ट्युबेलबाट तानेर प्रयोग गर्दै आएका उनीहरूले पानी रातो हुने समस्या निराकरणका लागि घरायसी फिल्टर प्रयोग गर्दै आएका छन् । उनीहरूले अहिले पनि शुद्ध खानेपानी प्रयोग गर्न पाएका छैनन् । तर, आफैले बनाएको फिल्टरबाट फिल्टर गर्दासमेत पानी पूर्णरूपमा शुद्ध नभएपछि उनीहरू दूषित पानी प्रयोग गर्न बाध्य हुनु परेको छ । कनकाई–१ मा खानेपानीका लागि परियोजना सञ्चालनमा रहे पनि खानपानी वितरण नहुँदा स्थानीयले दूषित पानी प्रयोग गर्न बाध्य हुनुपरेको स्थानीय तारा कोइरालाले बताइन् ।

पानी शुद्धीकरणका लागि फिल्टर जोड्न नसकिएकाले घरमै घरायसी सामग्री प्रयोग गरेर पानी फिल्टर गरी प्रयोग गर्दै आइरहेको बताइन् । फिल्टर नै गरे पनि उक्त पानी प्रयोग गर्दा भाँडाकुँडा रातो हुने र कपडासमेत छिट्टै बिग्रने गरेको उनको भनाइ छ । प्रयोग गर्दै आइरहेका सामग्री तामाको जस्तै देखिने उनको भनाइ छ ।

आर्थिक अवस्था कमजोर भएका कारण फिल्टर जोड्न यहाँका धेरै परिवारले नसकेको उनको भनाइ छ । झण्डै दुई दशकअघि ९० परिवारका लागि फन्ट बोर्डको सहयोगमा खानेपानी विस्तार गरिएको थियो । तर, केही वर्ष चलेपछि उक्त खानेपानी ट्याङ्की बिग्रियो जसका कारण यहाँका स्थानीयले शुद्ध पानी प्रयोग गर्नबाट बञ्चित हुनुपरेको हो ।

प्रजापति क्षेत्रमा खानेपानीको ठूलो अभाव रहेको स्थानीय बाल्दिका अधिकारी बताउँछिन् । खानेपानी धेरै रातो भएकोले फिल्टर नगरी खानै नसकिने उनको भनाइ छ । प्रजापति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी ट्याङ्की बनाउने भन्दै बर्सेनि पैसा उठाइरहे पनि खानेपानी भने कहिल्यै नआउने गरेको उनको आरोप छ । ‘पानी बनाउन भनेर बर्सेनि ५–६ सय रुपैयाँ प्रत्येक घरबाट उठाउँछन्, तर पानी दिँदैनन् । आए पनि एक–दुई दिन आउँछ, त्यसपछि बन्द हुन्छ’–उनले गुनासो गर्दै भनिन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि उत्तरमा रहेको प्रजापति क्षेत्रका प्रत्येक घरमा सिमेन्टको फिल्टर देखिन्छ । ऋण गरेर भए पनि शुद्ध खानेपानीका लागि स्थानीयले सिमेन्टको फिल्टर राखेका छन् ।

उक्त फिल्टरमा बालुवा र गिट्टी लगाएर पानी शुद्धीकरण गर्ने गरिएको स्थानीय बोधकुमारी पौडेल बताउँछिन् । तर, ट्युबेलको आर्सेनिकयुक्त पानीले ती फिल्टर नै रातो भएको उनको भनाइ छ । यहाँको सबैभन्दा ठूलो समस्या भनेकै खानेपानी भएको उनको भनाइ छ । मान्छेले ऋण गरेर भए पनि सिमेन्टको फिल्टर बनाएका छन् । तर, यो फिल्टरबाट आएको पानी पनि शुद्ध हुँदैन । केहीबेर भाँडामा राख्यो भने भाँडा नै बिग्रिने गरेको उनीहरू बताउँछन् । ‘चुनावका बेलामा भोट माग्न आउनेले खानेपानी चाँडै ल्याइदिन्छौँ भन्थे । तर, चुनाव सकिएपछि बिर्सिएका छन्’ –उनले भनिन् ।

यसरी सिमेन्टको फिल्टरबाट ट्युबेलको पानी शुद्धीकरण गर्दा पनि पिउन उपयुक्त नहुने डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाका प्रमुख विकास काफ्लेले बताए । ‘झापामा ट्युबेलको पानी खानयोग्य छैन । यहाँ आइरन र म्याग्निजको मात्रा अत्यधिक छ’–उनले भने । त्यो पानी प्रशोधन नगरी खान नमिल्ने उनले बताए । सिमेन्टमा फिल्टर गर्दा केही शुद्ध होला, तर खानयोग्य नै हुन्छ भन्न नसकिने उनको भनाइ छ । त्यस ठाउँका घरहरूमा सिमेन्टको फिल्टर आफूले पनि देखेको बताउँदै जाँच नगरेको हुँदा पिउनयोग्य छ कि छैन भन्न नसकिने बताए  ।

बजेट नआएका कारण प्रजापति खानेपानीसहित जिल्लाका अन्य ठाउँका खानेपानी आयोजना अलपत्र परेको उनले जनाए । अर्को खानेपानी आयोजना प्रजापतिमा बन्दै गरे पनि बजेट अभावले ट्याङ्की निर्माण र पाइपलाइन विस्तार गर्न नसकिएको उनको भनाइ छ ।

पुरानो खानेपानी आयोजना बिग्रिएपछि नागरिकको घरमा शुद्ध पिउनेपानी पु¥याउन नसकिएको प्रजापति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर राउतले बताए । दुई दशकअघि सुरु भएको खानेपानी आयोजना ९० परिवारका लागि भएको उनले बताए । तर, सुरुको दुई वर्ष मात्र पानी वितरण गर्न सकिएको र त्यसपछि समस्या आएको उनी बताउँछन् ।

पछिल्लो समय डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयले उक्त ठाउँमा खानेपानी निर्माणका लागि बजेट विनियोजन गरेको छ । चार सय ४२ घरधुरीका लागि खानेपानी निर्माणको योजना ल्याइए पनि समयमा पर्याप्त बजेट नदिँदा खानेपानी विस्तारको काम चार वर्षदेखि अलपत्र रहेको राउतले बताए । ‘जग्गा घेराबारा, खानेपानी कार्यालयको चारकोठे भवन निर्माण गरियो । ०७७ मा डिप बोरिङको सामान पनि आएको छ’ उनले भने, ‘तर, अब ट्याङ्की निर्माण र पाइपलाइन विस्तारको मुख्य कामचाहिँ अड्किएको छ ।’ बजेट अभावले काम सम्पन्न हुननसकेको उनको भनाइ छ ।

झापामा अझै १५ प्रतिशत जनसङ्ख्या शुद्ध खानेपानीको पहुँचबाहिर रहेको बताइएको छ । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाका अनुसार ८५ प्रतिशत जनसङ्ख्यामा शुद्ध खानेपानी पुगेको छ । खानेपानीको पहुँचबाहिर रहेका जनता ट्युबेलको पानी खान बाध्य छन् ।